ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको दोस्रो चौमासिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम शनिबार भएको छ ।
कार्यक्रम संस्थाको आफ्नै भवनमा भएको थियो । संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । समीक्षा कार्यक्रममा आवधिक बचतको व्याजदर विषय, ऐच्छिक बचतको न्यूनतम बचतको विषय, ऋणको किस्ता अवधि हेरफेर गर्ने विषय,सामूदायिक, विकास कोष परिचालन गर्ने विषय, भाखा नाघेका ऋण असुलीको विषय र आव २०८०/८१ को वार्षिक योजना तथा बजेटलाई अनुमोदन गर्ने विषयमा छलफल गरिएको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए ।
कार्यक्रममा संस्थाका पदाधिकारी, लेखा समिति, ऋण उपसमिति लगायत अन्य उपसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाले ०८१ असार मसान्तसम्ममा एक करोड ८७ लाख ६२ हजार पाँच सय शेयरपुँजी पुर्याउने लक्ष्य राखेको छ । सहकारीले असारसम्ममा १८ करोड ४१ लाख ६४ हजार १९८ रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।