हेटौंडा \ हेटौंडा ४ मा रहेको श्रीमित्र मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकदिवसीय वित्तिय साक्षरता कार्यक्रम शनिबार हेटौंडामा आयोजना गरेको छ ।
सहकारीको शिक्षा उपसमिति संयोजक बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष तथा केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ लेखा संयोजक भोलाप्रसाद शर्मा खरेलको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय कृषि सहकारी संघका सल्लाहकार एकराज उप्रेतीले कार्यक्रम सहजीकरण गरेका थिए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहकारी संस्थामा आवद्ध रहेका ३४ जनाले वित्तीय साक्षरता तालिममा सहभागिता जनाएको सहकारीका व्यवस्थापक रामहरि खरेलले जानकारी दिए । सहकारी संस्थामा १ हजार १ सय १५ जना शेयर सदस्य आवद्ध रहेका छन् ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष सर्मिला श्रेष्ठ, जिल्ला सहकारी संघ मकवानपुरका सहसचिव भोगेन्द्र लुइटेललगायतको आतिथ्यता रहेको थियो । वित्तीय साक्षरता तालिमले बचत योजना, जोखिम न्यूनीकरण, सुरक्षित बैदेशिक रोजगार , व्यवसायिक योजना र पारिवारिक बजेट लगायतका विषय जानकारी प्रदान गर्नेछ ।