हेटौंडा \ हेटौंडा १५ भोर्लेमा अवस्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । मंगलबार संस्थाले ६६ जना सदस्यहरुको सहभागितामा एक दिने तालिम सञ्चालन गरेको हो ।
संस्थाको २४ औं स्थापना दिवसको अवसरमा सदस्यलाई पशुपालन सम्बन्धी तालिम दिइएको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् । संस्थाका उपाध्यक्ष कमला कुमारी तामाङको अध्यक्षतामा भएको तालिमलाई जनप्रिय प्राविधिक शिक्षालयका पशु विषयक प्राध्यापक लक्ष्मण कुमार चौधरीले सहजीकरण गरेका थिए ।
चौधरीले तालिममा बाख्रा र गाईपालनका पद्धति बारे जानकारी गराउनुका साथै विभिन्न रोग, त्यसको निराकरण, सर्ने उपाय, लक्षणका विषयमा समेत जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिनु विश्वकर्मा, संस्थाका व्यवस्थापक माया तामाङ लगायतको सहभागिता रहेको थियो । संस्थाको २४ औँ स्थापना दिवस चैत्र ३० गते विभिन्न कार्यक्रम गरी मनाउने तयारी रहेको व्यवस्थापक तामाङले बताईन् ।