September 7, 2024
चैत्र १८, २०८०

ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाले आइतबार शिक्षा शिविरसँगै सेवा केन्द्र स्थापना गर्न छलफल कार्यक्रम गरेको छ । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सदस्य शिक्षा शिविर, विस्तारित मञ्च तथा सेवा केन्द्र स्थापना विषयक छलफल कार्यक्रम गरेको हो ।

ईन्द्रसरोवर ४ फाखेल राकस खोलामा सेवा केन्द्र व्यवस्थापनका उपसमिति गठन गर्ने उद्देश्यले संस्थाका उपाध्यक्ष मञ्जु रुम्बाको संयोजकत्वमा काईलीमाया लामा, बहादुर सिं डिम्डुङ, ईन्द्रलाल डिम्डुङ र राजेशकुमार लामा सदस्य रहनेगरी सेवा केन्द्र उपसमिति गठन गरिएको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए ।

उपाध्यक्ष रुम्बाकै अध्यक्षतामा भएको कार्यक्रममा वडा ४ का वडा सदस्य आईमान भ्लोन, संस्थाका अध्यक्ष धनराज महर्जन, व्यवस्थापक सरोज थापा मगर, ऋण सहायक उमेश बस्नेत, समूह परिचालक पुष्कर गोले लगायत सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष रुम्बाले संस्थाका ऋण र बचत सम्बन्धमा जानकारी दिनुका साथै सेवाकेन्द्रबारे जानकारी दिएकी थिईन् ।

कार्यक्रममा व्यवस्थापक सरोज थापामगरले संस्थाले १६ करोड १० लाख १६ हजार ५१८ रुपैयाँको कुल कारोबार गरेको जानकारी दिएका थिए । त्यस्तै, संस्थाका बचत निक्षेप १२ करोड ९ लाख ७८ हजार २८३ रुपैया रहेको छ भने कर्जा लगानी ११ करोड ५ लाख ४ हजार ६८ रुपैयाँ गरेको व्यवस्थापक थापामगरले बताए । संस्थामा एक हजार ७१६ जना सदस्य आवद्ध रहेका छन् ।