April 19, 2024
चैत्र १३, २०८०

हेटौंडा  \ “सहकारीमा सुशासन प्रविधि र एकीकरण” भन्ने नाराका साथ बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डसँगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका विषयगत सहकारी संघहरुको समन्वयमा ६७ औं सहकारी दिवस विविध कार्यक्रम सहित भव्य रुपमा मनाईने भएको छ ।
सोमबार बागमती प्रदेश स्तरीय ६७ औं सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि चैत्र १४ गते देखि सप्ताहव्यापी विभिन्न कार्यक्रम तय गरेकोछ ।

यस अघि नै ६७ औं सहकारी दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिले बागमती प्रदेशभरका सहकारी संघ संस्थाहरुले सहकारी दिवसलाई प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन समेत दिएको छ । सहकारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाईने मूल समारोह समिति संयोजक देवकोटाले बताए ।

मूल समारोह समितिको कार्यक्रम अन्तरगत १४ गते प्रदेश भरका सबै सहकारी संघसंस्थाको कार्यालयमा ६७ औं सहकारी दिवसको नारा सहितको ब्यानर राख्ने, कार्यक्रम अन्तरगत १५ गते ‘ऋण लगानी तथा असुलीका कानुनी प्रावधान र सरोकारवालाहरुको भूमिका’ विषयमा सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने, १६ गते देखि १९ गतेसम्म सहकारी संघ संस्थाहरुले सहकारी दिवस लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, २० गते बिहान ७ः०० बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ संस्थाहरुले दीपावली गरी सहकारी दिवस समापन गरिने कार्यक्रम रहेको संयोजक देवकोटाले बताए ।

सचिवालयले सप्ताहभर प्रदेश भरका सहकारी संस्थाहरुले सञ्चालन गर्ने सहकारी दिवस लक्षित कार्यक्रमहरुको जानकारी प्रदेश सहकारी विकास बोर्ड वा सहकारी दिवस मूल समारोहको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ । र उक्त कार्यक्रमहरुलाई समेत मूल समारोह समितिको कार्यक्रममा समावेश गरिने जानकारी मूल समारोह समितिका कार्यालय सचिव गोविन्द दहालले बताए ।