April 20, 2024
फाल्गुन २३, २०८०

मकवानपुर \ बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान अन्तरगत करिब साढे एघार लाख बाख्रामा खोप लगाइएको छ । गत १६ गते बुधबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको एक सातामा एघार लाख ४२ हजार ३ सय २७ वटा बाख्रामा खोप लगाइएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख एंव प्रवक्ता सुजन कंडेलले बताउनुभयो ।

प्रदेशका सबै जिल्ला स्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरहरुद्धारा खोप लगाउनेका कार्य भएको प्रवक्ता कंडेलले बताउनुभयो । १६ गते बुधबारबाट सुरु भएको खोप कार्यक्रम मंगलबार सकिएको हो । मंगलबार सम्ममा करिब साढे एघार लाख बाख्राहरुमा खोप लगाइएको प्रवक्ता कंडेलले बताउनुभयो । यस अभियानमा भेडाको संख्या भने शुन्य रहेको छ ।

प्रदेशको काभ्रेमा एक लाख २७ हजार ९ सय १७, ललितपुरमा २४ हजार २५, काठमाडौंमा २२ हजार १४, भक्तपुरमा नौ हजार एक सय ८५ वटा बाख्राहरुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, दोलखामा नब्बे हजार ४ सय ४७, सिन्धुपाल्चोकमा ७५ हजार ७ सय ८, रामेछापमा एक लाख ५ हजार चार सय, सिन्धुलीमा एक लाख ४४ हजार पाँच सय ३५ वटा बाख्रामा खोप लगाइएको प्रवक्ता कंडेलले बताउनुभयो ।

त्यस्तै, मकवानपुरमा एक लाख ५१ हजार ९ सय १, चितवनमा ८५ हजार १९, नुवाकोटमा ७४ हजार ७ सय १९, रसुवामा १९ हजार ८ सय ३८ र धादिङमा एक लाख ६० हजार ६ सय ६३ वटा बाख्राहरुमा पिपीआर खोप लगाइएको प्रवक्ता कंडेलले बताउनुभयो ।

नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै संख्यामा भेडाबाख्राको मृत्यु भएको अवस्था छ । जसबाट कृषकले ठुलो मात्रामा नोक्सानी व्याहोर्नु परेकोले पनि विगतको वर्ष झैँ यस वर्ष पनि अभियाननै सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. गौरीमान श्रेष्ठले बताउनुभयो ।