April 20, 2024
फाल्गुन २०, २०८०

हेटौंडा \ बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान अन्तरगत करिब साढे पाँच लाख बाख्रामा खोप लगाइएको छ । गत १६ गते बुधबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौथोँ दिन शनिबार सम्ममा पाँच लाख ४९ हजार ८१ वटा बाख्रा जातमा खोप लगाइसकेको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख एंव प्रवक्ता सुजन कंडेलले बताउनुभयो ।

प्रदेशका सबै जिल्ला स्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरहरुद्धारा खोप अभियान चलाइएको प्रवक्ता कंडेलले बताउनुभयो ।

पहिलो दिनको तुलनामा दोस्रो दिनबाट भने हजारौं बाख्राहरुमा खोप लगाइएको तथ्याङ्क रहेको छ । बुधबारबाट सुरु भएको खोप कार्यक्रम शनिबार सम्ममा करिब साढे पाँच लाख बाख्राहरुमा खोप लगाइएको छ । हाल सम्म भेडाहरुमा भने खोप नलगाइएको प्रवक्ता कंडेलले बताउनुभयो ।

प्रदेशको काभ्रे जिल्लामा ६४ हजार ६ सय ८८, ललितपुरमा १२ हजार ७ सय ४७, काठमाडौंमा १४ हजार २ सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ वटा बाख्राहरुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, दोलखामा ५६ हजार ९ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार ४ सय ९, रामेछापमा ४४ हजार ५ सय २७, सिन्धुलीमा ६४ हजार २ सय ४२ वटा बाख्रामा खोप लगाइएको प्रवक्ता कंडेलले बताउनुभयो ।

त्यस्तै, मकवानपुरमा ७५ हजार ६ सय २८, चितवनमा ४० हजार ५ सय ६३, नुवाकोटमा ५४ हजार ५ सय ७, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार ६ सय २५ वटा बाख्राहरुमा पिपीआर खोप लगाइएको प्रवक्ता कंडेलले बताउनुभयो ।

नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै संख्यामा भेडाबाख्राको मृत्यु भएको अवस्था छ । जसबाट कृषकले ठुलो मात्रामा नोक्सानी व्याहोर्नु परेकोले पनि विगतको वर्ष झैँ यस वर्ष पनि अभियाननै सञ्चालन गरी खोप लगाउने अभियान सञ्चालन गरिएको कृषि, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. गौरीमान श्रेष्ठले बताउनुभयो । खोप अभियान २२ गते सम्म सञ्चालन हुनेछ, हामी करिब १५ लाख भेडाबाख्रामा खोप लगाउने लक्ष्य राखेका छौं, निर्देशक श्रेष्ठले भन्नुभयो ।