October 10, 2024
फाल्गुन १७, २०८०

हेटौंडा \  चार महिना अवधिको दूधको भुक्तानी नपाएका मकवानपुरका किसानहरुको आन्दोलन चर्कदै गएको छ । सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी डेरीहरुले समेत आफ्ना भुक्तानी रोकेको भन्दै यहाँका किसानहरुको आन्दोलन चर्कदै गएको छ ।

आज हेटौंडाको मुख्य बजार बुद्धचोकमा सडक समेत अवरुद्ध गरेका छन् । किसानले गाइ, भैसी पालना गरेर बिक्री गरेको दूधको भुक्तानी महिनौ देखि रोकिदा आफुहरु आन्दोलनमा उत्रनु परेको किसानहरु बताउँछन् ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले सडक बन्द गरेको हो । मकवानपुरका करिव ६ हजार दुग्ध किसानको प्रतिनिधिमुलक उपस्थितिमा राजमार्ग बन्द गरेका हुन् ।किसानहरुले मकवानपुर जिल्ला चार नाकाबाट मुख्य बजार हेटौंडामा भेला भएका किसानहरुले मुख्यचोक बुद्ध चोकमा नारबाजी गर्दै राजमार्ग बन्द गराएका हुन् ।

जिल्लाको पूर्वि क्षेत्र बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु हेटौंडाको सानोपोखरा चोकमा भेलाएका थिए । यसैगरी उत्तरी तर्फ भीमफेदी गाउँपालिका र  मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकिटोलमा भेला भए ।

पश्चिम क्षेत्र हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा र दक्षिणतर्फ मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर नाराबाजी सहित बुद्धचोकमा जम्मा भएका थिए ।

र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकिटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सडकमा किसानहरु हिँडेर करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका हुन् ।