November 14, 2024
फाल्गुन १५, २०८०

हेटौंडा \ बागमती प्रदेश सरकारले करिब साढे २७ लाख भेडाबाख्रालाई पिपीआर खोप लगाइने भएको छ । भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि बुधबारबाट प्रदेशभित्रका सबै भेडाबाख्रामा खोप लगाइने भएको छ । सप्ताहव्यापी खोप अभियान कार्यक्रम नै आयोजना गरी प्रत्येक जिल्लामा विभिन्न खोप केन्द्रमा भ्याक्सिनेटर मार्फत खोप लगाईने जनाइएको छ ।

प्रदेशको कृषि तथा पशुपंक्षी विकासले मंगलबार प्रेस बिफ्रिङ गर्दै खोप अभियानबारे जानकारी गराइएको थियो । आव २०७९/८० को  तथ्याङ्क अनुरुप प्रदेश भित्र २७ लाख २८ हजार ६४५ वटा भेडाबाख्राको संख्या रहेको मन्त्रालयका प्रवक्ता सुजन कंडेलले बताए ।  प्रदेशमा संघीय सशर्त मार्फत प्राप्त खोप ५८ दशमलव ४२ प्रतिशत रहेको रहेको छ भने राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा उत्पादन हुने भएकाले प्रशस्त मात्रामा खोपको डोज पुग्ने प्रवक्ता कंडेलले बताए ।

प्रदेशमा बाख्राको संख्या २६ लाख ७७ हजार २२५ र भेडाको संख्या ५१ हजार ४२० वटा रहेको छ, यस वर्ष भने केही थपघट हुने अनुमान मन्त्रालयको रहेको प्रवक्ता कंडेलले बताए । उनले सबै भेडा बाख्रा पालक किसानहरु खोप अभियानमा सहभागिता जनाउनु हुन आग्रह समेत गरेका छन् ।

प्रदेशको १३ वटै जिल्लामा पशु सेवा कार्यालय मार्फत स्थानीय तह सम्मका पशु प्राविधिक मार्फत खोप लगाईने मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले बताए । खोप अभियानका लागि स्थानीय तहको समन्वयमा खोप केन्द्र निर्धारण, भ्याक्सिनेटर नियुक्ति गरिएको सचिव कोइरालाले बताए । खोप केन्द्र तोकिएको स्थान र व्यावसायिक फार्महरुको पहिचान, लजिष्टिक व्यवस्थापन गरिनुका साथै पिपीआर खोप अभियान बारे प्रचारप्रसार समेत गरेका छौं, सचिव कोइरालाले भने ।

नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै संख्यामा भेडाबाख्राको मृत्यु भएको अवस्था छ । जसबाट कृषकले ठुलो मात्रामा नोक्सानी व्याहोर्नु परेकोले पनि विगतको वर्ष झैँ यस वर्ष पनि अभियाननै सञ्चालन गरी खोप लगाउने सचिव कोइरालाले बताए । बुधबारबाट सुरु हुने अभियान २२ गते सम्म सञ्चालन हुनेछ । त्यसका लागि आवश्यक तयारी पुरा भएको समेत सचिव कोइरालाले बताए ।

प्रेस ब्रिफिङमा कृषि, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुखहरु भरतप्रसाद विडारी, सुजन कंडेल, सुचना अधिकारी अनुप अधिकारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।