December 12, 2024
माघ २०, २०८०

मकवानपुरगढी \ मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिकोत्सव शनिवार भएको छ । मकवानपरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लामाले दुध अनुदान कार्यमा प्रदेश सरकारले किसानको मर्म नबुझेको बताएका छन् । उनले किसानले प्राप्त गर्ने दुधमा आधारित अनुदानमा सबै किसानलाई समेट्न नसक्नु र सोही अनुरुप बजेट विनियोजन गर्न नसक्नुले किसानको मर्म नबुझेको बताए । एक शीर्षकमा अनुदान रकम नमिल्ने हुँदा रोकेको अनुदान कार्यक्रममा गाउँपालिकाले सम्बोधन हुने गरी हिउँदे अधिवेसनबाट केही बजेट संशोधन गरि ल्याएको समेत बताए ।

किसानले ६/७ फारम सम्म दुधको भुक्तानी नपाएकोमा दुख व्यक्त गर्दै सहजीकरण गर्ने दुग्ध संघ र संकलन गर्ने सहकारी संस्था कहाँ र कसरी चुक्यो भन्ने प्रश्न औल्याउँदै छिटोभन्दा छिटो किसानले दुधको भुक्तानी पाउनमा आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

गाउँपालिकामा नवपर्वतन कार्यक्रम लागु गर्ने तयारीमा पालिमा रहेको भन्दै सहकारी संस्थासँगको सहकार्यमा यस्ताखाले कार्यक्रम गरिने बताए । गाउँपालिकाले सहकारीमा उत्पादन गरिएको दही र मोहीलाई प्रत्येक विद्यालयमा हरेक शुक्रबार विद्यार्थीलाई मोही खुवाउने कार्यक्रमको तयारी गरेको बताए । विद्यालयले ठेकी खरिद गर्ने र ठेकीको पहिचान र मोही कार्यक्रम ल्याए पालिकाभित्रमा चिसोजन्य पदार्थ बिक्री बन्द गर्नतर्फ आवश्यक तयारी गरेको अध्यक्ष लामाले बताए ।

May be an image of 5 people, beard and text

वार्षिकोत्सवको अवसरमा संस्थाले गरेका विभिन्न गतिविधिहरुको प्रचारप्रसार गराई संस्थाको लोकप्रियता बढाउन योगदान गरेकाले खबरसहकारी डटकममा सम्पादक श्रीराम अर्जुन, रेडियो मकवानपुरगढीका प्रवन्धक एम.पि. शर्मा र रेडियो थाहा सञ्चारका भीमसेन पौडेललाई सम्मानित गरिएको थियो ।

यसैगरि आ.व ०७९/०८० मा सबै भन्दा बढी दूध विक्री गरी प्रथम मुकुन्द प्रसाद दाहाल(३५२३७ लिटर), द्धितीय नरेन्द्र लम्साल (३१९६८ लिटर) तृतीय अर्जुन प्रसाद दाहाल (२७४६४लिटर),असली ऋणीतर्फ सुनिता अधिकारी र डेरीबाट स्थानीय दुध खरिदगर्ने राम प्रसाद घिमिरेलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा मकवानपुरगढी–३ का वडा सदस्य विदुर हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका अध्यक्ष हरि कंडेल, संस्थाका संस्थापक अध्यक्ष हरि प्रसाद अधिकारी, पूर्व अध्यक्ष कृष्ण प्रसाद पोखरेल, श्रमिक साना किसान कृषि सहकारीकी अध्यक्ष निर्मला कुमारी लम्साल, कालीदेवी दुग्ध सहकारीका अध्यक्ष विक्रम योन्जन, टावरडाडाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशील समाज सहकारीकी व्यवस्थापक विमला न्यौपाने संस्थाका लेखा समिति संयोजक होमनाथ फुँयाल, रानी सामूदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले दुग्धजन्य पदार्थलाई विविधिकरण गरि बिक्री गर्दै आएको छ । संस्थाले आफनै कार्यालयबाट र हेटौडा–२ मा विक्री केन्द्र स्थापना गरि दूध, दहि, पनिर, घ्यु, मोही र बटर उत्पादन गरि सरल मूल्यमा बिक्री गर्ने गरेको छ । ३ सय ४८ जना शेयर सदस्य ११ जना कर्मचारी रहेको संस्थाले दैनिक ५ हजार लिटर दूध संकलन गर्दै आएको व्यवस्थापक शशी लम्सालले बताईन् ।