February 19, 2025
माघ १५, २०८०

हेटौंडा \ बागमती प्रदेश सरकारले सहकारीहरूको विद्यमान समस्या व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समितिका सदस्यहरु सोमबार नियुक्ती पत्र बुझेका छन् । गत पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गरेको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका वडा नम्बर–३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का यज्ञनाथ दाहाल र मकवानपुरगढी गाउँपालिका ५ का यतिराज सापकोटा रहेका थिए ।

अध्यक्ष अधिकारी र सदस्यद्धय दाहाल र सापकोटाले सोमबार आफ्नो नियुक्त पत्र बुझेका छन् । मन्त्रालयमा भएको एक कार्यक्रमका बीच मन्त्री पुकार महर्जनले तीनैजनालाई नियुक्त पत्र प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री महर्जन सहित प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।