हेटौंडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको बागडोर सम्हालेको एक वर्ष पुगेको छ । ०७९ पुस २६ गते मुख्यमन्त्रीको सपथ लिएका उनले बुधबार एक कार्यक्रमका साथ एकवर्ष गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
एक वर्षमा उनको नेतृत्वमा रहेको सरकारले सहकारी क्षेत्रमा भने त्यति उल्लेख्य कार्य गरेका छैनन् । देशको आर्थिक मन्दीका साथै सहकारी क्षेत्रमा भएका बेथितिहरु बढ्दोक्रममा रहेको अवस्थामा सरकारले पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको विद्यमान समस्या व्यवस्थापनका लागि तीन सदस्यीय समिति भने गठन गरेको छ ।
त्यस्तै, प्रदेश अन्तरगत ३० वटा सहकारी नयाँ दर्ता गरिएको छ भने प्रदेश अन्तरगत अब तीन हजार २३४ वटा सहकारी रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । यसैगरी एक अवधिमा सहकारी सम्बन्धी २३६ वटा उजुरी परेकोमा ३४ वटा सहकारीहरु माथि थप छानविन र कारवाहीका लागि नेपाल प्रहरी समक्षलेखी पठाएको उनले बताए ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तरगत रहेको सहकारी क्षेत्रमा प्रदेश सहकारी बोर्ड र छुट्टै सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरी सहकारी क्षेत्रको काम कारवाही अघि बढाइएको मुख्यमन्त्रीले बताए । देशको आर्थिक पक्षमा आएको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्था छ । प्रदेश सरकारले अब उत्पादनसँग जोडिएर सहकारीले लगानी गर्नुपर्ने बताए ।