हेटौंडा \ हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा बुधवार भएको छ । हेटौडा उपमहानगरपालिका वडा नं. १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा सहभागी दुग्ध उत्पादक किसानहरुले दूधको उचित मूल्य नपाएको, विक्री गरिएको दूधको भुक्तानी समयमै नपाएको गुनासो गरे । स्थानीय सरकारको अनुभूति गर्न नपाएको, जिल्ला संघबाट सहयोग नभएको, गाई भैसीको दानाको मूल्य आकाशिदा पनि मूल्य नियन्त्रण तर्फ सरकारले ध्यान नदिएको विषयमा गुनासो गरे । साधारणसभामा व्यवसायिक पशुृपालनमा सरकारले अनुदान वितरण नगरेको र पार्टीका कार्यकर्तालाई रकम बाडेको आरोप किसानहरुले लगाएका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा समिति सदस्य भीम प्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक टीका कार्कीले ऋण उपसमितिको प्रतिवेदन र शिक्षा उपसमिति संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र व्यवस्थापक घनश्याम दाहालले आव. ०८०/०८१ को लागि ७ करोड ११ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा बढी दूध विक्री गर्ने मेनुका बजगाई, टीका कार्की, विषम बहादुर कार्की, गुस्तरीय दूध विक्री गर्ने मिलनराज भण्डारी, दुर्गा प्रसाद चौलागाई, उत्कृष्ट कारोवारीमा मेनुका बजगाई र लेखनाथ पराजुलीलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा जिल्ला संघ प्रतिनिधि दिव्यराज धमला, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, राजदेवी मीनदर ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद नेपाल, राजदेवी टोल विकास संस्था अध्यक्ष युद्धविक्रम थापा, अशोक टोल विकास संस्था अध्यक्ष सुमनलाल श्रेष्ठ, सल्लाहकार चुनुदेवी धमला, अर्जुन प्रसाद तिमल्सिना, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । ३ सय ७५ जना शेयर सदस्य रहेको यो सहकारीले आव. ०७९÷०८० मा ३ करोड ५ लाखको दूध विक्री गरेको छ ।