हेटौँडा \ हेटौँडा ७ नागस्वतीमा अवस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सवमा रजत महोत्सव मनाइरहदाँ विहीबार विविध कार्यक्रम आयोजना गरेको छ ।
संस्थाले विहीबार भने म्युजिकल चियर प्रतियोगिता, घ्याम्पो फुटाई र सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । फुटबल प्रतियोगितामा मुख्यकार्यालय र हेटौंडा सदस्य सेवा कार्यालय फाइनल प्रवेश गरेको छ । हेटौंडा सदस्य सेवा कार्यालयले चिसापानी सदस्य सेवा कार्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै हेटौंडा फाइनल प्रवेश गरेको हो ।
त्यस्तै, दोस्रो खेलमा मुख्य कार्यालयले कमाने सदस्य सेवा कार्यालयलाई ट्राइवेकरमा ४-३ गोल अन्तरले मुख्यकार्यालय फाइनल प्रवेश गरेको हो । खेल अवधिमा १-१ गोल गरी बराबरी पश्चात विजेता ट्राईवेकरबाट घोषित गरिएको थियो । फाइनल खेल शुक्रबार दिउँसो १ बजे नवज्योति विद्यालयको खेल मैदानमा हुने युवा तथा खेलकुद उपसमितिका संयोजक एंव संस्थाका सचिव युवराज गौतमले बताए ।
त्यस्तै, म्युजिकल चियरमा प्रथम सीता खनाल, द्धितीय कमला चौलागाई र तृतीय बिना गौतम भएकी छिन् । यस प्रतियोगितामा ३९ जनाले सहभागिता जनाएका थिए । त्यस्तै, घ्याम्पो फुटाई प्रतियोगितामा अृमत बहादुर खत्री विजयी भएका छन् । प्रतियोगितामा सहभागि मध्ये गोलाप्रथाबाट पालो निर्धारण गर्दा १७ औं सहभागि अृमत बहादुर खत्रीले घ्याम्पो फुटाएर विजयी बनेका हुन् । प्रतियोगितामा ४७ जना महिला पुरुषले सहभागिता जनाएको गौतमले बताए । गौतमकै अध्यक्षतामा भएको खेलमा संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेत प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
शुक्रबार भोली भने स्लो बाईक/स्कुटर रेस, पाँच सय मिटर महिला/पुरुष दौड, फुटबलको फाइनल प्रतियोगिता, पुरस्कार वितरण र साँझमा दीप प्रज्वलन, मिठाई वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन रहने संस्थाका सुचना अधिकारी सुशील सुवेदीले बताए ।
सहकारीले यस अघि जेष्ठ नागरिक सम्मान, बाल कार्यक्रम तथा वनभोज कार्यक्रम, बृहत रक्तदान कार्यक्रम गरिसकेको सुवेदीले बताएका छन् ।