
हेटौंडा \ चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा २७ करोड रुपैंया कारोबार गरेको छ । संस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभामा लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरीवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले संस्थाले आव २०७७/०७८ मा २७ करोड ७६ लाख ३ सय १२ रुपैंया कारोबार भएको जनाएका हुन् । संस्थाले सो अवधीमा १ करोड ८ लाख रुपैंया मुनाफा आर्जन गरेको छ ।
भेलामा संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबारी प्रकाश बस्नेत र धावा लामा, असल बचतकर्तामा रामकुमारी देवकोटा र राजेश भट्टराईलाई सम्मान गरिएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संचालक सदस्य विद्या कोइरालाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्रप्रसाद ढुंगाना, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठ, सचिव अर्जुनप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । २०६५ सालमा स्थापना भएको संस्थामा हाल २४ सय बढि शेयर सदस्य आवद्ध रहेका छन् ।