September 7, 2024
पुस १०, २०८०

हेटौंडा \ हेटौंडा ६ चौघडामा अवस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सोमबार शेयर सदस्य लक्षित सहकारी शिक्षा शिविर कार्यक्रम सोमबार गरेको छ । सहकारीले हेटौंडा १८ फुर्केचौर स्थित गोरक्षश्वर माध्यामिक विद्यालय परिसरमा एक दिवसीय सहकारी शिक्षा शिविर गरिएको हो ।

संस्थाका सचिव समेत रहेका शिक्षा उपसमितिका संयोजक रोमबहादुर न्यौपानेको अध्यक्षतामा शिविर सञ्चालन गरिएको थियो । संस्थाका शेयर सदस्य र गैर शेयर सदस्यहरु ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक दीपेन्द्र गौतमले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने बचत र ऋणको विषयमा संस्थाका उपाध्यक्ष समेत रहेका ऋण समितिका संयोजक श्याम प्रसाद भट्टराइले सहजीकरण गरेका थिए । सोही कार्यक्रममा महिला समितिका संयोजक रेखा मैनाली गिरीले सहकारीका विषयमा आफ्नो भनाई राखेकी थिइन् ।

सहकारीको वार्षिक कार्य योजना अनुरुप सहकारीले शिक्षा शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताए । संस्था सदस्य वृद्धि विस्तारको क्रममा रहेकाले शेयर सदस्य र गैर सदस्यहरुलाई सहकारीबारे विभिन्न पक्षबारे जानकारी गराइएको अध्यक्ष पौडेलले बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्ट्रिकोणमा फरकपन आएकाले वास्तविकता बारे सदस्यहरुलाई शिविर मार्फत जानकारी दिइएको अध्यक्ष पौडेलको भनाइ रहेको छ । शिविरमा संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडा सहित संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।