December 12, 2024
मंसिर १५, २०८०

खोटाङ \ खोटाङको दिक्तेलमा रहेकाे लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसुरमा ३५ जना प्रतिवादीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

बचतकर्ताको लगानी अपचलन भएको विषयमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी (मृतक) तथा उनका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध अभियोग पत्र दायर भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले बताउनुभयाे ।

सहकारीका दुई सय ६५ जना बचतकर्ताले ३५ जना प्रतिवादीबाट चार करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो माग दाबी गरेका छन् । अभियोग पत्र पेस भएसँगै बिहीवारदेखि नै नौ जना प्रतिवादीको बयान शुरु गरिएको अदालतले जनाएको छ । ‘प्रतिवादीको बयान सकिएपछि बहस हुन्छ । त्यसपछि अदालतको निर्णय आउँछ’, स्रेस्ताेदार खड्काले भन्नुभयाे, ‘अदालतबाट प्रतिवादीलाई थुनामा पठाउने, तारिखमा छोड्ने वा धरौटी लिनेमध्ये कुनै एउटा निर्णय आउँछ ।’

बचतकर्ताले आठ सयदेखि ५५ लाख रुपैयाँसम्म बचत फिर्ताका लागि निवेदन दिएका प्रहरीले जनाएको छ । बचत डुबाइदिएको भन्दै बचतकर्ताले पहिलोपल्ट २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । केही समयअघि सञ्चालक र केही ऋणीविरुद्ध पनि बचतकर्ताले जाहेरी दिएका थिए ।

सयौँ बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो । यस्तै सहकारीका अध्यक्ष जोशीका भाइ सुनिल र सुनिलकी श्रीमती रविना श्रेष्ठलाई गएकाे असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई प्रहरीले असोज १७ गते काठमाण्डाैबाट पक्राउ गरेको थियो । अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेललाई गएकाे कात्तिक १५ गते चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य २६ प्रतिवादी भने फरार सूचीमा छन् ।

२०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।

प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा चार करोड ४७ लाख छ हजार नाै सय ६७ रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाख रुपैयाँसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको छ । चार जनालाई तमसुकविना नै ऋण दिएको पाइएको छ । सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा परेकाे देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेनु कार्कीले बताउनुभयाे । सहकारीको निक्षेप चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार पाँच सय ६४ रुपैयाँ देखिन्छ । यस्तै चार करोड ९० लाख ९७ हजार तीन सय ९३ रुपैयाँ तिर्नुपर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ अवस्था भने नदेखिएको इन्स्पेक्टर कार्कीले बताउनुभयाे ।

सहकारीको नाममा हलेसीमा ४८ लाख रुपैयाँमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाइको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ ।

बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । डुबेको सावाँ र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।

लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले १० लाख, निकिता राईले दुई लाख, नवराज थापाले एक लाख ५० हजार, राजन सैंजूले एक लाख ३५ हजार र इन्द्र श्रेष्ठले ३१ हजार रुपैयाँ ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ ।-उज्यालोअनलाईबाट