October 10, 2024
मंसिर ९, २०८०

हेटौँडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा अवस्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्य लाई ६ करोड ३९ लाख ७६ हजार ६०३ कर्जा लगानी गरेको छ । शनिबार १७ औँ वार्षिक साधारण सभा गर्दै आव २०७९/८० को आर्थिक विवरण प्रस्तुत गर्दै सहकारीमा २ करोड २९ लाख ७१ हजार शेयर पुजीँ रहेको र ६ करोड ७१ लाख ८१ हजार ७६७ बचत निक्षेप रहेको संस्थाका सचिव हरिमाया ढकालले बताईन् ।

संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा मन्त्री मोक्तानले सहकारीले गरेको स्थानीय उत्पादन र बजारिकरणको विषयमा धन्यावाद व्यक्त गर्दै प्रदेश सरकारले पनि यी यस्ता स्थानीय उत्पादन गरी बिक्री वितरण गर्ने संस्थालाई प्राथमिकतामा राखेर थप सहजीकरण गरिने बताइन् । सहकारीले उत्पादनमा जोड दिनुपर्ने भन्दै मन्त्री मोक्तानले सहकारी आफैँ उत्पादनशील क्षेत्रमा लगानी गरी सहकारी र सदस्यलाई बलियो बनाउनतर्फ लागेकोमा खुसी व्यक्त गरिन् ।

सहकारीले सभामा दैनिक बचततर्फ गोपाल श्रेष्ठ, असल मासिक बचततर्फ रामजी साँखी क्षेत्री, आवधिक बचततर्फ राधिका पौडेल, अधिक शेयर खरिदतर्फ अमृत लामिछाने, असल बालबचततर्फ सान्वाभी श्रेष्ठ, असल ऋणीतर्फ विजय रायलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईइमा उत्कृष्ट ग्रेड ल्याउने अनिष नेपाल, श्रेया खड्का, आस्था श्रेष्ठ, स्मृती सुवेदीलाई पुरस्कृत गरिएको थियो । साथै विभिन्न पदमा रहेका समितिलाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार रघुरमण न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कानुनी सल्लाहकार राधाकृष्ण मैनाली, लेखा समिति संयोजक रेवतीरमण न्यौपाने, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव ईश्वर पण्डितलगायत वडाका जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।