हेटौंडा \ हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा फेरि चोरी भएको छ। असोज ११ गते राति चोरी भएको संस्थामा गएराति फेरि चोरी भएको हो ।
संस्थाबाट सिसिटिभीको हार्डडिक्स लगायतका सामग्री चोरी भएको सहकारी स्रोतले जनाएको छ । पटक पटक चोरी हुन थालेपछि सुरक्षामा चुनौती थपिएको छ ।
असोज ११ गते राति पनि जनकल्याणमा मूल ढोका फुटाएर प्रवेश गरी भल्ट फुटाई ५० हजार ५ रूपैयाँ नगद चोरेको थियो भने चौघडा बचतमा भवन पछाडिपट्टीको झ्यालको ग्रिल उक्काएर प्रवेश गरे पनि संस्थामा नगद राख्ने नगरेकाले नगद चोरी नभएपनि विद्युतीय उपकरण र भौतिक संरचनामा सामान्य क्षति गरेको थियोे ।
केही समय अघि सहकारीमा चोरी हुने क्रम बढेपछि चौघडा क्षेत्रका अधिकांश सहकारीले संस्थामा नगद राख्न छोडेका छन् । उनीहरूले अबेरसम्मको रकम बैंक दाखिला गर्ने र संस्थामा राति नगद नराख्ने नीति लिएका छन् ।