January 13, 2025
कार्तिक २१, २०८०

हेटौंडा \ नेफ्स्कून सदस्य सेवा कार्यालय, मकवानपुरको आयोजनामा हेटौंडामा सोमबार ऋण व्यवस्थापन तथा सुरक्षित ऋण परिचालन तालिम सञ्चालन गरिएको छ । तालिममा मकवानपुरका ३१ साकोसका ३२ जनाको सहभागिता रहेको थियो ।

तालिम समापनमा बोल्दै मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थाले नीति अनरुप ऋण लगानी गर्नुपर्ने भन्दै अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या आउने बताईन् । उनले सदस्यहरुका लागि ऋण सदुपयोगिता सिकाउन तालिम र कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएकी थिइन् । नेफ्स्कून मकवानपुर सदस्य सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य समेत रहेकी श्रेष्ठले सिकाइलाई व्यवहारमा लागु गर्न तालिमका सहभागीहरुलाई आग्रह गरिन् ।

त्यस्तै, उपसमिति सदस्य विजय बहादुर बस्नेतले आर्थिक मन्दी तथा वित्तीय संकटको अवस्थामा क्षमतामा आधारित ऋण लगानी गर्नुपर्ने, ५ सी विश्लेषण अनिवार्य गर्नुपर्ने र सदस्यलाई ऋण लगानी तथा असुली गर्दा सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका थिए । उपसमितिका सदस्य राजु गौतमले पनि संस्थाको मुटु ऋण भएकोले त्यसलाई व्यवस्थित रुपमा लगानी गर्नु पर्ने भन्दै कसैको सिफारिसको आधारमा काम गर्न नहुने, सहकारी सुशासनमा चल्नुपर्ने र सहकारी शिक्षा कार्यक्रम व्यापक गरी सहकारीप्रतिको नकरात्मक भ्रम चिर्नुपर्ने धारणा राखेका थिए । नेफ्स्कूनका तालिम अधिकृत रवीन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए भने तालिमको व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय मकवानपुरकी इन्चार्ज ज्योति महतले गरेकी थिईन् ।