February 19, 2025
कार्तिक २०, २०८०

हेटौंडा \ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि पेशामा आवद्ध कृषकहरुलाई प्रविधिमैत्री भएर कृषि गर्न आग्रह गर्नु भएको छ । उहाँले प्रविधिमैत्री कृषि पेशा आजको आवश्यक्ता रहेको औल्याउनु भयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार हेटौंडामा आयोजना गरेको बागमती प्रदेश स्तरीय कृषिगणना २०७८ को नतिजा सार्वजनिक गर्नुहुदै मन्त्री श्रेष्ठले तथ्याङ्कको तथ्य घट्दा र बढ्दाको अवस्थामा स्थानीय र प्रदेश सरकारले बढि ध्यान दिनुपर्ने बताउनु भयो । अंक संख्या घटबढ ठुलो कुरो होईन त्यसले पार्ने प्रभाव चाहीँ ठुलो कुरो हो, मन्त्री श्रेष्ठले भन्नुभयो । सार्वजनिक तथ्याङ्कलाई आत्मसात गर्दै प्रदेश सरकारले पनि सोही अनुरुप कार्यान्वयनमा लैजानु पर्ने भन्दै उहाँले आजको आवश्यक्ता प्रविधि अवलम्बन भएकाले यसलाई उपयोग गरि पेशा गर्न जोड दिनु भयो ।

उहाँले थोरै जमिनमा धेरै उत्पादन गर्नतर्फ किसान उन्मुख हुनुपर्ने भन्दै कृषकले रसायनिक मलको उपलब्धतालाई मध्येनजर गर्दै प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने बताउनु भयो । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले सारांशमा मुख्य विषयवस्तु समेटिएको राष्ट्रिय कृषि गणनाको प्रदेश स्तरीय नतिजाको प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

सात सय ५३ वटै स्थानीय सरकारको संरचनागत रुपमा कृषिगणना गरिएको निर्देशक कार्कीले बताउनुभयो । प्रतिनिधित्व हुने गरी तीन लाख ३० हजार एक सय १२ कृषक परिवार छनौट गरी कागजी र ट्याबलेट मार्फत तथ्याङ्क संकलन गरिएको थियो कार्कीले भन्नुभयो । कृषक परिवार सुचीकरण लगत, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामूदायिक पश्नावली  तयार पारी ७ हजार जनशक्ति परिचालन गरि तथ्याङ्क लिइएको उहाँले बताउनुभयो ।