October 10, 2024
कार्तिक १८, २०८०

ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई ११ करोड ८ लाख ७ हजार १४५ रुपैयाँ कर्जा लगानी गरेको छ । शनिबार संस्थाले १७ औं वार्षिक सभा गर्दै आव २०७९०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त रकम ऋण लगानी गरेको हो ।

एक करोड ५१ लाख ९५ हजार ५ सय सय शेयरपुँजी रहेको सहकारीमा बचत निक्षेप भने १० करोड ५३ लाख ५७ हजार ६५२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । संस्थामा १ करोड १७ लाख ६० हजार ५३१ रुपैयाँ जगेडा कोष रहेको छ ।

शनिबार भएको सभामा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षतामा सभा भएको थियो । सभामा ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, पुर्व पालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, वडा ५ का वडाध्यक्ष दुतराज तितुङ, ४ का वडाध्यक्ष चन्द्रकुमार बल लगायतको आतिथ्यता रहेको थियो ।

सभामा उत्कृष्ट बचतकर्ता गणेश बहादुर नगरकोटी, बाल बचतकर्ता सेमोलिना रुम्बा, असल ऋणी सुन्दर लामा, उत्कृष्ट बचत समूह राममन्दिर बचत समूह, जेष्ट शेयर सदस्य हरिकृष्ण तामाङलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

No description available.

सभाकै अवसरमा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग र नेपाम रेडक्रस सोसाइटी ईन्द्रसरोवर उपशाखाको सहकार्यमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । रक्तदान कार्यक्रममा महिला १४ र पुरुष २६ जना गरी ४० जनाले रक्तदान गरेको संस्थाका ऋण अधिकृत उमेश बस्नेतले बताए । वडा ५ को कार्यालय परिसरमा भएको कार्यक्रममा वडाध्यक्ष दुतराज तितुङले रक्तदान गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।