May 2, 2024
कार्तिक १६, २०८०

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।

अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेकाले अब धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहने उहाँले बताउनुभयो । अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको उहाँको भनाइ छ । उहाँले अब ब्याजदर घट्ने पनि बताउनुभयो । त्यस्तै, जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो । उहाँले मानिसमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिच्किचाइरहेको परिस्थितिमा अब सो परिस्थितिको अन्त्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धरायसी केही पनि छैन । तपाईहरु पटक–पटक धरायसी, धरायसी भन्नुहुन्छ । अहिले अर्थतन्त्रले बिस्तारै पिकअप लिइरहेको छ । अब ब्याजदर पनि घट्छ । जग्गाको कारोबार बढिरहेको छ । देश विदेशको पर्यटक बढिराखेका छन् । रेमिट्यान्स् बढिराखेको छ ।’

नेगेटिभ कुराहरु बजारमा गएको हुनाले आत्मविश्वासको कमी भएको डा. महतले बताउनुभयो । ‘आत्मविश्वास कमी भएको अवस्थामा खर्च गर्नेले पनि नगर्ने, लगानी गर्न पनि हिच्किचाउने परिस्थिति थियो । अब त्यो परिस्थिति बिस्तारै अन्त्य भइराखेको छ’ अर्थमन्त्री महतले भन्नुभयो, “अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ । त्यसको म तथ्यांकसहित केही दिनमा प्रस्तुत पनि गर्छु । पत्रकार सम्मेलन गरेर प्रस्तुत गर्छु । हामी बजेटको कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्छौँ ।’

अर्थमन्त्री महतले नेपालमा लगानी गर्न विदेशी दाताहरु र मित्रराष्ट्रको चाख बढिरहेको बताउनुभयो । त्यस्तै वैदेशिक सहयोगको परिस्थिति पनि सकारात्मक भएको उहाँको भनाइ छ ।