May 19, 2024
कार्तिक १४, २०८०

हेटौंडा \  बजारमा देखिएको आर्थिक मन्दीका कारण सहकारीमा परेको समस्याको बारेमा बुझ्न  हेटौंडा उपमहानगरपालिकाले अनुगमन सुरु गरेको छ ।

उपमहानगरक्षेत्रमा रहेर कारोबार गरीरहेका सहकारीको सहकारीको पारदर्शिता, आर्थिक विश्वासनियताको बारेमा बुझ्न मंगलबारबाट अनुगमन थालिएको हो । उपमहानगरका उपप्रमुख राजेश बानियाँको नेतृत्व रहेको टोलीले ७ वटा सहकारीको अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरीरहेको कारोबारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वासनियता, बजेट खर्चको शैली सहितका विषयमा जानकारी लिएका थिए ।

अनुगमन टोलीले हेटौंडा–२ को साईराम साकोस, परिचय साकोस, हेटौंडा–१ को अग्रगती साकोस, हेटौंडा–१० को सुखसमृद्धि साकोस, हेटौंडा–७ को हेटौंडा साकोस, सृजना साकोस र हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अनुगन गरेको हो । अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र स्थानीय तहबाट समाधानका लागि हुन सक्ने सहजीकरणको उपाएका बारेमा छलफल गरिएको थियो ।