December 3, 2023
अशोज २७, २०८०

इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।

संस्थाका अध्यक्ष श्रमिक लामाको सभाध्यक्षता तथा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको हो । सभालाई उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी अब उत्पादन सँग जोडिएर कृषि क्षेत्रमा लगानी गर्दा आर्थिक वृद्धि हुने बताए ।

उनले फाखेल तरकारी खेतीको पकेट क्षेत्रको रुपमा रहेको छ अवस्थामा यहाँका किसानका आर्थिक वृद्धि गर्न सहकारीको भूमिका उल्लेख्य रहेको बताउँदै सहकारीले पनि कृषि लक्षित त्यसमा पनि उत्पादनसँग जोडिएर काम गर्नुपर्ने बताए । उनले अब सहकारी मार्फत विभिन्न प्राविधिक विषय सहित कृषि र पशुका विषयमा, डाक्टर, अधिवक्ता जस्ता दक्ष जनशक्ति उत्पादन तर्फ पनि सहकारीको ध्यान जानु पर्ने बताए ।

संघीय राजधानीसँग नजिक रहेकाले उत्पादित कृषि उपजहरु सहज रुपमा लान र बिक्री गर्न सकिने हुँदा कृषि पेशालाई व्यवसायिक रुपमा खेती गर्न उनले आग्रह गरेका छन् । सहकारी मार्फत सरल कर्जा लिएर आफ्नो व्यवसायमा लगानी गर्दा व्यवसायमा वृद्धि हुन जानुका साथै सस्तो सुलभ व्याजदरले आम्दानी भएको रकम कर्जा तिरेर बचत पनि गर्न सहज हुने बताएका थिए ।

सभामा विभिन्न विधामा सदस्य सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाले उत्कृष्ट सदस्य देवकी नगरकोटी, अनु लामा थोकर, उत्कृष्ट शेयर खरिदकर्ता मन बहादुर स्याङ्तान, उत्कृष्ट कारोबारी विष्णुमाया भोम्जन, उत्कृष्ट समूहतर्फ एकरुपता महिला समूह, उत्कृष्ट नियमित बचततर्फ इन्द्रमाया तामाङ, ऐच्छिक बचततर्फ सुशीला डिम्डुङ, खुत्रुके बचततर्फ दीलकुमारी पाख्रीन, बाल बचततर्फ एलेक्स थिङ, गहना बचततर्फ सरस्वती थोकर, युवा बचततर्फ अन्जना थिङ, दैनिक बचततर्फ मीठु देवी थापा कार्की, पर्व बचततर्फ सिर्जना नगरकोटी, उत्कृष्ट जेष्ठ नागरिक बचततर्फ सुकमाया थिङलाई पुरस्कृत गरिएको थियो ।

संस्थाले सदस्यलाई ११ करोड २१ लाख ८२ हजार ४३१ रुपैयाँ कर्जा लगानी गरेको र १० करोड ६७ लाख ९७ हजार ९९७ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक सविना लामा थिङले बताईन् । एक हजार ९८५ जना सदस्य रहेको सहकारीमा शेयरपुजीँ भने १ करोड ३८ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ भने एक करोड ६३ लाख ४९ हजार ९७६ रुपैयाँ जगेडा कोष रहेको व्यवस्थापक लामाले बताईन् ।

सभामा गाउँपालिकाका पूर्व अध्यक्ष जीवन लामा, गाउँपालिका उपाध्यक्ष उमा लामा, वडा ४ का वडाध्यक्ष चन्द्र कुमार बल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य फणिन्द्र नाथ सुवेदी, श्रीमितेरी साकोसका अध्यक्ष धनराज महर्जन, कार्यपालिका सदस्य सावित्री सुनार, रामकृष्ण विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।