मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित स्वरोजगार साना किसान कृषि सहकारी संस्थाको विहीबार १२ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष धनकुमारी खड्काको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
सहकारीले आफ्ना सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यका साथ साना साना किसान लक्षित कार्यक्रम गर्दै ८ करोड ७० लाख ७१ हजार ८०७ रुपैयाँ विभिन्न उद्देश्यमा कर्जा लगानी गरेको छ । ९६ लाख ११ हजार तीन सय शेयरपुँजी रहेको संस्थामा बचत निक्षेप भने २ करोड ६० लाख तीन हजार ५३४ रुपैयाँ रहेको संस्थाका प्रवन्धक गोमा लामाले बताईन् । संस्थामा ६९ लाख ३७ हजार ७८९ रुपैयाँ जगेडाकोषमा रहेको छ । सहकारीले ११ करोड ४ लाख ९० हजार ६८३ रुपैयाँको कारोबार गरेको छ ।
सभाको अवसरमा असल ऋणी तर्फ चिनीमाया लुङ्बा र क्रृशला अधिकारीलाई नगद सहित पुरस्कृत गरिएको थियो भने बाल बचत तर्फ हीरा पुडासैनी, खुत्रुके बचततर्फ उमा सापकोटालाई पुरस्कृत गरिएको थियो ।
सभामा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई, प्रादेशिक कृषि सहकारी संघका सदस्य निर्मला लम्साल, वडा सदस्य चन्द्रमाया हुमागाई, संस्थाका सल्लाहकार जीत बहादुर घिमिरे, थलनाथ घिमिरे, संस्थापक अध्यक्ष सुन्तली माया पुडासैनी, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, महिला कल्याण साकोसका सचिव सरिता ढुङ्गाना, नमुना सामूदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सभामा संस्थाका अध्यक्ष धनकुमारी खड्काले वार्षिक कार्ययोजना प्रस्तुत गरिनुका साथै संस्थाका प्रवन्धक गोमा लामाले आव ०८०/८१ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । संस्थाका लेखा समिति संयोजक संगीता हुमागाईले लेखा प्रतिवेदन सभामा पेश गरेकी थिइन् ।