October 10, 2024
अशोज २१, २०८०

भीमफेदी \ भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाको शनिबार २५ औं वर्ष प्रवेश गरेकोमा रजत जयन्ती महोत्सव तथा वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष शर्मिला महतको सभाध्यक्षता तथा वडा नम्बर २ का वडा अध्यक्ष काशीराम बज्युको प्रमुख आतिथ्यतामा महोत्सव तथा सभा गरिएको थियो ।

सभाको अवसरमा संस्थाले १५ जना असल कारोबार गर्ने सदस्यलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेमा सीता मोक्तान, माया सिंजाली, संगीता श्रेष्ठ, मञ्जु लामा, शान्ति कार्की, देवकी माया विक, ईन्द्रमाया गोले, भगवती तामाङ, पूर्णमाया बज्यू, सन्तलीमाया थिङ, नवकुमारी राना, कालीमाया गोले, देवकी चौधरी, ज्ञानीमाया नेगी र पार्वती राना रहेका थिए ।
त्यस्तै, समूहतर्फ गुण्डिङ्ग महिला समूह र कालिका महिला समूह पुरस्कृत भएका थिए । सहकारीले सहकारीकर्मी सम्मान २०८० बाट कमलादेवी गोलेलाई सम्मान गरिएको थियो ।

एक करोड १५ लाख ५६ हजार २ सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना सदस्यलाई ८ करोड ५६ लाख ३६ हजार ४१० रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताईन् । सहकारीको बचत निक्षेप ८ करोड ३९ लाख ८६ हजार ९६१ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ लाख २७ हजार ४२९ रुपैयाँ रहेको व्यवस्थापक ढुङ्गानाले बताईन् ।

सभामा वडा १ का वडा अध्यक्ष सोमबहादुर स्याङ्तान, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, नेफ्स्कुन फिल्ड कार्यालय ईन्चार्ज ज्योति महत, संस्थाका संस्थापक अध्यक्ष सीता थापा, पूर्व अध्यक्ष विष्णु राना र शोभा थापा लगायतको आतिथ्यता रहेको थियो ।