
मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष तेजकुमारी अस्थानीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।
संस्थाले सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई पुरस्कृत गरेको छ । संस्थाले असल ऋणी तर्फ सुकुमाया थिङ र दीलमाया थिङ, उत्कृष्ट बचतकर्ता तर्फ भेलकुमारी घिमिरेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, बाल समूहतर्फ पारिजात बाल समूह, महिला समूहतर्फ दिदीबहिनी महिला समूह र कोपिला महिला समूहलाई पुरस्कृत गरिनुका साथै ६ जना शिक्षा बचततर्फका बालबालिकालाई पुरस्कृत गरिएको थियो ।
सभामा वडा २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन, वडा १ का अध्यक्ष आइतसिं लो, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, सदस्य हिमाल पौडेल,नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका इन्चार्ज ज्योति महत, कार्यपालिका सदस्य सावित्री विक, फूलमाया टुप्पा, वडा सदस्य लक्ष्मी विक, चण्डिका माविका अध्यक्ष राजकुमार गोले, स्वास्थ्य चौकी प्रमुख नवराज सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
एक करोड ३ लाख ८६ हजार चार सय शेयरपुजीँ रहेको संस्थाले आफ्ना सदस्यलाई ७ करोड १२ लाख २० हजार ४७८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक बाटुकुमारी योन्जनले बताइन् । संस्थामा बचत रकम ५ करोड ३३ लाख १४ हजार ३७३ रहेको छ भने जगेडा कोष ९५ लाख ९१ हजार ६१९ रुपैयाँ रहेको व्यवस्थापक योन्जनले बताइन् । सहकारीले ८ करोड ८० लाख ३० हजार २५७ रुपैयाँको कारोबार गरेको छ ।