February 19, 2025
अशोज ११, २०८०

हेटौंडा \ हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी र चौघडा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।

जनकल्याणमा दुई जनाको समूहले मूल ढोका फुटाएर प्रवेश गरी भल्ट फुटाई ५० हजार ५ रूपैयाँ नगद चोरेको संस्थाले जनाएको छ । चौघडा बचतमा भवन पछाडिपट्टीको झ्यालको ग्रिल उक्काएर प्रवेश गरे पनि संस्थामा नगद राख्ने नगरेकाले नगद चोरी नभएपनि विद्युतीय उपकरण र भौतिक संरचनामा सामान्य क्षति भएको जनाइएको छ ।

जनकल्याणमा लेखा समितिको बैठकका लागि विहान समितिका पदाधिकारी आउँदा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो भने चौघडा बचतमा कार्यालय समयमा कर्मचारी आएपछि चोरी भएको थाहा पाएर प्रहरीलाई खबर भएको थियो ।

दुबै संस्था करिव १०० मिटर वरपर रहेका छन् । दुबै घटना राति १२ बजेदेखि २ बजे आसपासमा भएको छ । घटनास्थलमा प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली पुगेर अनुसन्धान थालेको छ । केही समय अघि सहकारीमा चोरी हुने क्रम बढेपछि चौघडा क्षेत्रका अधिकांश सहकारीले संस्थामा नगद राख्न छोडेका छन् । उनीहरूले अबेरसम्मको रकम बैंक दाखिला गर्ने र संस्थामा राति नगद नराख्ने नीति लिएका छन् ।