हेटौंडा \ हेटौंडा १५ रातोमाटेमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाको शनिबार २३ औं वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष जानुका दुवाडीको सभाध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा सभा भएको हो ।

सभाको अवसर पारी संस्थाले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ऐच्छिक बचततर्फ केशरी थापा, सिर्जना श्रेष्ठ, रत्न कुमारी मोक्तान, कुमारी माया मोक्तान र सोमराज पाख्रिन रहेका छन् । त्यस्तै, असलऋणी तर्फ  सुनिता थिङ, सुमित्रा कुमारी मोक्तान, पुर्ण कुमारी पोख्रेल, मेनुका पुलामी मगर र उमेश क्षेत्री रहेका छन् ।

सहकारीले उत्कृष्ट समूहतर्फमा उन्नतशील महिला समूह, उज्वल महिला समूह, दिदीबहिनी महिला समूह, स्वभिमान महिला समूह, चुरियामाई महिला समूह, सम्झना महिला समूहलाई सम्मान गरेको छ । बाल बचततर्फ संस्कार ढुङ्गाना, शारिरीक अशक्तता भएका दिल बहादुर सुनार, सविता सुनार र दीपक श्रेष्ठलाई सम्मान गरिएको थियो । सभाकै अवसरमा जेष्ठ शेयर सदस्यहरु रेनुका थापा क्षेत्री, ठाइली माया थिङ, बुद्धिलक्ष्मी तामाङ, प्रीतिमाया स्याङ्तान र फूलमाया थिङलाई सम्मान गरिएको थियो । संस्थाले सर्वोत्कृष्ट कर्मचारीमा संस्थाका लेखापाल अम्बिका आलेमगरलाई सम्मान गरेको थियो ।

सभामा  जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी सघका कोषाध्यक्ष विष्णु कुमारी लामा, हेटौडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, संस्थाका संस्थापक अध्यक्ष लीलामाया थिङ, पूर्व अध्यक्षद्धय मञ्जु थिङ, कुमारी श्रेष्ठ, मञ्जुश्री महिला साकोसका अध्यक्ष चन्द्रदेवी तामाङ, महिला जनशक्ति साकोसका उपाध्यक्ष मीना अधिकारी, भुटनदेवी महिला साकोसका अध्यक्ष चमेली सिंजाली मगर, सहकारी बैंकका वेदप्रसाद तिमल्सिना, रातोमाटे प्रहरी चौकीका वरिष्ठ सहायक निरीक्षक मञ्जुकुमारी राना, सामूदायिक प्रहरी सेवा पशुपतिनगरका केशव प्रसाद न्यौपाने, जनजागृति माविका तीर्थमाया शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीले आफ्ना सदस्यलाई विभिन्न उद्देश्यका लागि २९ करोड ७८ लाख ११ हजार ६२९ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थामा २८ करोड ७ लाख ९६ हजार ३४८ बचत निक्षेप जम्मा भएको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताईन् । उनले संस्थाका ३ करोड ६१ लख १३ हजार ९ सय शेयरपुजीँ रहेको र जगेडाकोषमा १ करोड ७३ लाख ७९ हजार रहेको बताईन् । संस्थाको कुल वासलात ३७ करोड १८ लाख ७२ हजार ८५३ रहेको प्रतिवेदनमा उल्लेख छ ।