काठमाडौ \  नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको हो ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन शुक्रबार जारी सूचनामा उल्लेख छ ।

ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने भएका छन् । प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत मात्र हुन्छ ।