April 29, 2024
भदौ २१, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ ।

आज बिहीवार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले लगाताररूपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताउनुभयो । अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाले शेयर बजार प्रभावित बनाएको दाबी गर्नुभयो । सरकार शेयर बजारले सहज रूप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताको लगानी डुब्न नदिने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शेयर बजारमा गिरावट आएको छ । त्यसको विविध कारणहरू छन् । केही कारोबारमा राखिएका प्रतिबन्धले पनि शेयर बजार प्रभावित भएको छ । तथापि यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले संवाद गरिरहेका छौँ । शेयर कारोबारले सहज रूप लिओस् भन्ने हामी चाहन्छाैँ । लगानीकर्ताको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भीर छ । शेयर बजारलाई पारदर्शी बनाउने, नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भीर छ ।’

अर्थमन्त्री महतले शेयर बजारमा सबैखाले मानिसले हैसियतअनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानुनले छुट दिएको बताउनु भयो । उहाँले शेयर बजारमा शिक्षक, डाक्टर, इन्जिनियरसहित अन्य पेसा व्यवसायमा आबद्धले पनि लगानी गर्नसक्ने उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले शेयर बजारमा कोही पनि अनुचितरूपमा प्रवेश नगरून्, इन्साइडर ट्रेडिङ गर्न नपाऊन् र सूचना चुहाएर बजार प्रभावित बनाउन नपाऊन् भन्नेबारेमा सरकारले निगरानी गरिरहेको बताउनुभयो ।