January 13, 2025
भदौ १९, २०८०

हेटौंडा \ हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाकी ज्येष्ठ शेयर सदस्य नन्दकुमारी चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा सञ्चारकर्मी सहित १० जनालाई सम्मानित गरिएको थियो ।

सभामा सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका पूर्व प्रअ. सानुकाजी पाण्डे, अपाङग शेयर सदस्य अर्जुनप्रसाद घिमिरे, सुरेन्द्र बहादुर कार्की, बाल सदस्य सिद्धार्थ अर्याललाई सम्मान गरिएको थियो । यसैगरी नियमित बचतकर्ता ईन्द्र प्रसाद घिमिरे, असली कारोबारी राम प्रसाद चौलागाई, रामबहादुर मानन्धर, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने शशांक श्रेष्ठ र संस्कृति धमलालाई समेत सम्मानित गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, राजदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, नमुना प्रगति सहकारीका व्यवस्थापक बद्री भण्डारी, अशोक सामुदायिक वनका अध्यक्ष रमेश राई, राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष डेकराज धमला, स्थानीय समाजसेवी कृष्णप्रसाद नेपाल, संस्था उपाध्यक्ष रामप्रसाद भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले आजै वार्षिकोत्सवको अवसरमा हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल तथा खाद्यान्न वितरण गरेको सचिव श्यामलाल श्रेष्ठले बताए । वृद्धाश्रममा ६ जना वृद्धवृद्धाहरु रहेका छन । संस्थाको शेयर पूँजी ६१ लाख ३० हजार निक्षेप ३ करोड ७७ लाख, ऋण लगानी ३ करोड ९५ लाख रहेको यस सहकारी संस्थामा ६ सय १३ जना शेयर सदस्य रहेको व्यवस्थापक हेम बहादुर कुँवरले बताए ।