February 24, 2024
भदौ ७, २०८०

हेटौडा \  उद्योग संघ, मकवानपुरको आयोजना तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडा र अन्तरप्रेरणा प्रालिको सहकार्यमा नव उद्यमीहरुलाई लक्षित ए.आई.एम. नव उद्यमशाला बुटक्याम्प गर्ने भएको छ । मकवानपुर क्षेत्र भित्रका उद्यमशीलताको परिस्थिती प्रणालीलाई सुदृढ गर्ने लक्ष्य राखेर यस्तो कार्य गर्न लागेको संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बताएका छन् ।

विहीबार पत्रकार सम्मेलन गर्दैै कार्यक्रमबारे जानकारी दिदैं अध्यक्ष प्याकुरेलले भनेः नविनतम सोच वा व्यवसाय भएकाहरुले नव उद्यमशाला कार्यक्रममा सहभागी हुन सक्ने र युवाहरूलाई आफ्नो नविन व्यवसायिक विचारहरूलाई दिगो व्यवसायमा परिणत गर्नको लागि ए.आई.एम.नव उद्यमशाला बुटक्याम्प गर्न लागेका हौं । कार्यक्रम गर्न बजेट नभएका पनि हामी गर्छौ, सबैको साथ सहयोगले कार्यक्रमलाई सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष प्याकुरेलले बताए ।

कार्यक्रममा १५देखी १८ लाख खर्च हुने अनुमान छ । हामीले फारम भर्न आव्हान गरेका छौं, २३ गते सम्म आवेदन लिएपछि हामी २० जनालाई छनौट गरिने संघका निवर्तमान अध्यक्ष एंव बुटक्याम्पका कार्यक्रम संयोजक लेखराज पोखरेलले बताए । छनौटमा परेका नवउद्यमीलाई चार दिन कार्यशाला र एक दिन हाटबजारमा संलग्न गराउने र विज्ञहरु मार्फत उनीहरुलाई सल्लाहसुझाव प्रदान गरिने संयोजक पोखरेलले बताए ।

यस कार्यक्रमको मुख्य उद्देश्य नै सफल युवा उद्यमी निकाल्ने हो । देखासिकीको भरमा गरेका व्यवसायीले राम्रो व्यवस्थापन र व्यावसायन  नगरेको अवस्थाको अन्त्य गर्न यस क्याम्पले सहजता पुग्ने संयोजक पोखरेलले बताए । यस कार्यक्रमले जिल्लामा शैक्षिक, सरकारी र निजी क्षेत्रहरु बीच एक इकोसिस्टम निर्माण गरी दिगो रुपमा स्टार्टअप र नवप्रवर्तन कार्यक्रम लागू गर्न उपयुक्त संस्थागत संरचना स्थापना गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने छौं, पोखरेलले भने ।

No description available.