October 10, 2024
भदौ ३, २०८०

हेटौंडा \ बागमती प्रदेश सरकारले प्रदेशभित्र गाईभैंसीमा देखिएको लम्पीस्किन डिजिज विरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तरगत ४८ हजार ३ सय ६४ वटा गाईभैंसीमा खोप लगाइएको छ । शुक्रबारसम्ममा पशुप्रविधिकहरुले किसानको घरघरमा पुगी ४८ हजार ३ सय ६४ गाईभैसीमा खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका पशु विकास अधिकृत आभास कोइरालाले बताउनुभयो ।

प्रदेशको सबैभन्दाबढी चितवनमा १० हजार २ सय १९, काभ्रेमा ८ हजार ४ सय ११, मकवानपुरमा ६ हजार ८ सय २२ वटा गाईभैंसीमा खोप लगाईको अधिकृत कोइरालाले बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा २ हजार ४ सय ३९, भक्तपुरमा ९ सय २१, ललितपुरमा १ हजार पाँच सय, धादिङमा ४ हजार ३ सय १, सिन्धुलीमा २ हजार ५ सय ७८ वटा गाईभैंसीमा खोप लगाइएको छ ।

हामीले रामेछापमा २ हजार ३ सय ३५, दोलखामा ५ सय ४९, सिन्धुपाल्चोकमा ३ हजार २ सय ७४, नुवाकोटमा ३ हजार ५ सय ९७ र रसुवामा १ हजार ३ सय ३८ वटा गाईभैंसीहरुमा खोप लगाएको छौं, अधिकृत कोइरालाले भन्नुभयो । धेरै चितवनमा लगायौं भने सबैभन्दा थोरै दोलखा जिल्लामा लगाएको कोईरालाले बताउनुभयो ।
लम्पीस्किन रोगको महामारीमा किसानहरु समस्यामा परेकाले प्रदेश सरकारले रोग विरुद्धको खोप अभियान सञ्चालन गरिएको मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताउनुभयो । हामीले श्रावण २५ गतेदेखी खोप अभियान सञ्चालन गरेका हौं भाद्र १ गते सम्ममा ४८ हजार भन्दा धेरै गाईवस्तुहरुमा खोप लगाइसक्यौं, अधिकारीले भन्नुभयो ।

अभियानमा हामीले १ सय ४६ जना भ्याक्सिनेटर परिचालन गरिएका थियौं, अभियान सकिएपनि खोप लगाउने कार्य भने जारी नै रहेको अधिकारीले बताउनुभयो । अधिकारी भन्नुहुन्छः बागमती प्रदेशमा लम्पी स्कीन डिजिज् प्रकोपलाई रोकथाम गर्नको लागि यस अभियानले किसानमा केही राहत पुगेको विश्वास लिएका छौं ।