– श्रीराम अर्जुन   


हेटौंडा \ हेटौंडा-१० टिसिएसन रोड पछाडी छ आयूषा भुसालको जय शम्सेर टेलर्स । घरधन्दा सकिने वित्तिकै उनी टेलर्सको कामका लागी मेशिनमा बस्छिन् । अनि सुरुहुन्छ उनको दिनाचार्य ।  ४ वर्ष देखी सिलाई कटाइ सीप सिकेर आफ्नै घरमा टेलरिङ व्यवसाय गरेकी भुषाल पूर्वबाट विहे गरेर यहाँ आएको बताउछिन । आयुषाका एक छोरा एक छोरीछन् । बालबच्चा स्कुल गएको बेला उनलाई काम गर्न अझ सहज हुन्छ । ८ जनाको परिवार सँग संयुक्त परिवारमा बस्ने उनका श्रीमानले पनि २० वर्ष देखी यही व्यवसाय गर्नुहुन्थ्यो, जेठाजु र जेठानी दिदीपनि यही सँगै टेलरिङको काम गर्ने गर्दछौं र परिवारलाई सुखमय ढङ्गले सञ्चालन गर्दै आइरहेको भुषाल बताउँछिन् ।

No description available.

श्रीमानले पहिले देखीनै काम गर्दै आएता पनि आफुले हेटौंडा उपमहानगरपालिकाबाट दौरा सुरुवालको तालिम लिएँर यो पेशामा लागेको उनी बताउछिन  यो पेसाले आफुलाई बालबच्चा पढाउन र परिवार चलाउन सहज भएको उनको भनाई छ  । गृहिणी मात्र थिए अहिले सीपले गर्दा व्यवसायी बनेको छु र पेशा प्रति सन्तुष्ट रहेको उनी बताउँछिन् । उनका कमाने, पिप्ले मनहरी र बजारक्षेत्रका ग्राहक छन् । घर परिवार बाल बच्चा हेरेर पनि महिनामा सरदर २० हजार भन्दा बढी कमाउँछु : उनले भनिन ।

सीपले गर्दा आफुमा केही गरौं भन्ने भावना उत्पन्न भएको उनको तर्क छ । पहिला पहिला राम्रै कमाई थियो पछिल्लो समय कोरोना पछि व्यवसाय चल्न सकेको छैन तर पनि आफनै काम ठिकै छ उनले भनिन् । उनको दैनिकी विहानको ४ बजे देखी रातीको ११ बजे सम्म हुन्छ भन्दा पनि फरक पर्दैन ।

No description available.आफ्नो व्यवसायमा व्यस्त रहेकी हेटौंडा- ५ दक्षिणकालीकी सीता मिजार  । 


आयुषा मात्र होईन हेटौंडा-५ दक्षिणकाली मन्दिर रोडकी सीता मिजारको पनि यही पेशामा लागेर कमाई गरीरहेकी छिन  ।  १० वर्ष अघि काठमाडौंमा वेसिक सीप सिकेर आएकी मिजार अहिले आफ्नै घरमा टेलर्स मेशिन राखेर सिलाईको काम गर्छिन् । गाउँकै दिदी सँग १२ वर्षको उमेरमा हाँडीखोलाको घरबाट भागेर काठमाडौं पुगेकी मिजार १० वर्ष गलैंचा उद्योगमा काम गरेको बताउँछिन् । उनी भन्छिन्ः पढ्नका लागी भर्ना भएकी थिई भागेर काठमाडौं पुगे अहिले पढाई नगरेकोमा दुख लाग्छ ।

एक छोरा एक छोरीको साथमा बस्दैं आएकी मिजारको श्रीमानको टाइफाइट बिग्रेर २०६३ सालमा निधन भयो । केही समय गलैंचामा काम गरेर माइतीको साहारामा दुई बच्चा च्यापेर हेटौंडा बसेकी उनले यतै व्यवसाय गरेर विस्तारै सफलता मिल्दै आएको बताउछिन । सीप जानेर व्यवसाय गर्न सकिन्छ भनेर पनि यहीँ पेशामा लागियो, दुई वर्षजति भयो घर बनाएर व्यवसाय गरेको स्टाप राखेको छैन् आफै खटिनुपर्छ, छोराछोरीले यो पेशा गरेका छैनन् । उनी भन्छिन्ः सीप भयो भने कमाउन सकिन्छ, मैले मासिक २० हजार भन्दा बढी कमाउँछु, सन्तुष्ट छु पेशाप्रति उनले सुनाईन ।

No description available.नेपाली पोशाक दाउरा सुरवाल सिलाउँदै हेटौंडा-५ पुष्पलालकी कृष्णमाया डिम्डुङ ।


मिजारको जस्तै सिलाई पेसामा लागेर रमाईरहेकी हेटौंडा-५ पुष्पलालकी कृष्णमाया डिम्डुङको पनि सफलताको कथा छ । उनले पनि लेवल २ पास गरेर आफ्नै सीपको व्यवसायनै रोजेकी हुन । अर्काको टेलर्समा काम गर्दै आफ्नो सीपलाई निखार्दै आएकी डिम्डुङ हेटौंडा उपमहानगरको सीपमूलक एडभान्स दौरा सुरवाल तालिम पछि झन आफुमा थप सिलाई सेवा दिन सकिएको बताउँछिन् । १० वर्ष देखी यही पेशामा रहेकी उनले लेडिज र जेन्सका सर्ट पाईन्ट दौरा सुरवाल सिलाउने गर्छिन् । पहिला पहिला युवट्युव हेरेर सिलाउँथे अहिले तालिम पश्चात धेरै सहज भएको छ उनले बताईन । पर्सा जिल्ला पर्सागढी नगरपालिका घर भएकी उनी हेटौंडामा आफनै सिपबाट  व्यवसाय गर्दै आइरहेकी छिन् । आफु यस पेशामा सन्तुष्ट रहेको बताउने डिम्डुङले मासिक ३५ हजार भन्दा बढी आम्दानी गर्छिन् । उनले २ जना स्टाप राखेर विहान ७ बजेदेखी साँझ सम्म काम गर्ने गरेको बताउछिन् ।

No description available.हेटौंडा-८ की विनिता घलान आफ्नो टेलर्समा कपडा काट्ने तयारी गर्दै ।


व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडा-८ तालिम केन्द्र चोकमा विनिता घलानको आफ्नै टेलर्स छ । आठ वर्ष अघि तालिम केन्द्रबाट सिलाई सीप सिकेकी उनी इभेन्टबाट लेवल २ पास गरेकी छिन् । उनले त्यहाँ मात्र नभएर हेटौंडा उपमहानगरले प्रदान गरेको सीपमूलक सिलाई तालिम पनि लिएकी छिन् । लेडिज जेन्स सर्ट कुर्थी सिलाउने गरेकी उनले २ जना स्टाफ समेत राखेकी छिन् । बुबा गाडी चलाउनु हुन्छ, दाजुभाउजु प्रहरीमा, बहिनी वैदेशिक रोजगारमा छिन् आफु भने सीप सिकेर यहीँ व्यवसाय सञ्चालन गरिरहेको बताउँछिन् । पहिलेको जस्तो व्यवसाय नभएको गुनासो पोख्दै उनी भन्छिन्ः जताततै टेलर्स छ प्रतिस्पर्धा गर्न गाह्रो छ । दररेट संघको बढेर आएता पनि ग्राहकले पुरानै शुल्क दिन्छन् । महंगी यस्तो छ उनी बताउँछिन् ।

No description available.हेटौंडा-४ खोपेगल्लीमा आफ्नै व्यवसायमा व्यस्त हटियाकी रुकु राई । 


घर हटिया भएकी रुकु राई आफ्नो व्यवसाय सञ्चालन गर्न हेटौंडा सानोपोखरा बस्दै आइरहेकी छिन् । हेटौंडा ४ खोपे गल्लीमा रुकु लेडिज टेलर्स सञ्चालन गर्ने गरेकी राई १५ वर्ष देखी यही पेशामा छिन् । लेवल २ सम्मको तालिम लिएकी राईले सुरुमा माइती नेपालबाट बेसिक तालिम लिएको सुनाउँछिन् । एसएलसी पास गरेर दिदीको टेलर्समा बसेर ४—५ वर्ष काम गरेँ र अहिले १० वर्ष जति भयो आफ्नै व्यवसाय गर्दै आइरहेको छु । बुटिकले गर्दा बजार क्षेत्रमा टेलर्सको व्यवसाय खस्किदैं गएको बताउने राई सिलाईको प्रशिक्षक पनि हुन् । पहिला जस्तो आम्दानी हुन्न सरदर मासिक २० हजार माथी कमाउँछु उनले बताईन । दिदी म र भदैनी भएर काम गर्छौ, म तालिमहरु आए प्रशिक्षण दिन पनि जाने गर्दछु उनले भनिन् । नगरपालिकाले दिएको दौरा सुरुवाल तालिमले हामीलाई धेरै कुरा सिकायो यसले गर्दा स्वरोजगार भएका छौ उनले बताईन ।

हेटौंडा-३ बसामाडी घर भएका सन्तोष परियार आफ्नो बाबुबाजेको पालादेखीको सीप र व्यवसाय गर्दै आइरहेका छन् । १६ वर्षको उमेरदेखी १५ वर्ष हेटौंडाकै काठमाडौं टप टेलर्समा काम गरेका उनी पछिल्लो ६ वर्ष देखी आफ्नै व्यवसाय गर्दै आइरहेका छन् । कपडा सिलाउने मात्र नभई उनी थानका सटिङ सुटिङका कपडा विक्री पनि गर्छन् । हेटौंडा—४ पारिजात पथमा उनको व्यवसाय छ । आमा र आफु बस्दै आएका परियार २ वर्ष वैदेशिक रोजगारका लागि साउदी पुगेको बताए । कोटको काम गरेकोले राष्ट्रिय पोशाक सिलाउँथे तर कटिङ अरुले गरेर ल्याउँथे नगरपालिकाको तालिम पश्चात आफैँ कटिङ र सिलाउने दुबै गर्न जान्ने भएको छु उनले बताए । उनका अनुसार स्टाप छन् ८ वटा जति मेशिन छन् । सरदर मासिक ३५ हजार जति कमाउँछु पेशाप्रति सन्तुष्ट पनि छु । सीप भयो भने कतै जान पर्दैन, सीप सिकेर व्यवसाय गर्दा आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।

उता सिलाई व्यवसायी सँगै लेवल एकको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् हेटौंडा-८ कमाने निवासी कामना अधिकारी । १० वर्ष देखी सिलाई पेशामा रहेकी उनी लेवल २ पास गरेकी छिन् । आफ्नै घरमा टेलर्स राखेर काम गर्दै आएकी उनी हाल एक वर्षिय डिप्लोमा फेसन डिजाइन सिक्दै छिन् । यो पेशा नगरेको भए एनजिओमा काम गर्थे होला भन्दै अधिकारीले सुनाईन् पहिला जस्तो टेलरमा आम्दानी हुनै छोड्यो । टोलटोलमा सिलाई पसल छ प्रतिस्पर्धा गर्न गाह्रो छ अहिले पनि पुरानै दररेटमा सिलाउनु पर्ने बाध्यता रहेको उनको गुनासो छ । दैनिक ८ घण्टा काम गरेर परिवार हेर्नुका साथै दुई छोरीहरुको पठनपाठनमा  खर्च पु¥याउँछु । नगरपालिकाको तालिमले अहिले साना ठुला जुनसुकै साइजको दौरा सुरवाल सिलाउने गर्दछु उनले बताइन् । सीप सिकेर धेरैलाई स्वरोजगार बनाउन नगरपालिकाको यो कार्य राम्रो रहेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष  मेनका श्रेष्ठ बताउँछिन् । उनले थप धेरै सिलाई सँगै उद्योग नै सञ्चालन गर्ने गरि योजना ल्याउन सके सुनमासुगन्ध रहने उनको भनाई रहेको छ ।

No description available.आफ्नो सीप कौशलमा रमाउँदै हेटौंडा-४ का सिलाई व्यवसायी सन्तोष परियार । 


हेटौंडा उपमहानगरले बर्सेनी महिला लक्षित गरी व्यवसायमा जोड्न र जिविकोपार्जनमा परिवर्तन ल्याउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । सिलाई मात्र नभई नगरपालिकाले अचार, हाते कढाई, व्युटिपार्लर, दुलही श्रृङ्गार, किस्टलका गहना बनाउने, ढाकाको कपडा बनाउने, कौशीखेती, पशुपालन, मखमल जुत्ता, कपाल काट्ने, व्याच र साईपाटा बनाउने, सेनेटरी प्याड, डल कुसन, हस्तकला सामाग्रीमा प्याकेजिङ, लेबलिङ जस्ता दर्जनौं सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ ।

उक्त तालिमहरु अधिकांश वडामा रहेका टोल विकास संस्था, आमा समूह, सामाजिक संघसंस्था, सहकारी संस्था, सम्बन्धित सीप तालिमको तालिम केन्द्रहरुसँगको सहकार्यमा तालिमहरु प्रदान गर्दै आइरहेको  नगरपालिकाका समाजकल्याण शाखाका सहायक (नासु) पुजा अर्यालले बताइन् । उनले तालिमहरु सात दिने देखी लिएर, १० दिने, १५ दिने, एक महिने र तालिमको प्रकृति हेरेर तीन महिना सम्मको तालिमहरु प्रदान गर्दै आइरहेको बताइन् । धेरै जसो तालिममा १५ देखी २०-२५ जना सम्मको सहभागितामा तालिम प्रदान गरिएको बताउँदै अर्यालले भनिन् सिलाई, वारिष्टा(कफी बनाउने) सेनेटरी, अचार, विजुली जडान, नासु खरदारको लोकसेवा तालिम, हाते कढाई जस्ता तालिमले महिलालाई सीपमा जोडेर व्यवसाय गर्न तर्फ नगरपालिका अग्रसर रहेको बताउँछिन् ।

हेटौंडा नगरपालिकाको उद्योग पर्यटन सहकारी शाखाबाट  हेटौंडा १७ मा साना किसान कृषि सहकारी संस्था सँगको सहकार्यमा २५ जना महिलाको सहभागितामा अचार बनाउने तालिम गर्यो । महिला लक्षित उक्त तालिममा अचार बनाउने सीप सिकाउनुका साथै व्यवसाय गर्न आवश्यक दर्ता प्रक्रिया, बजारिकरण, खाद्य परिक्षण, लेभिलिङ, कच्चापदार्थ देखी तयारी पारी विक्री सम्मको तालिम प्रदान गरिएको प्रशिक्षक सुचना श्रेष्ठले बताइन् । कतिले घरायसी प्रयोजनका लागि बनाउँछ केहीको व्यवसाय गरी बजारमा बिक्री गर्ने सोच रहेको उनी बताउँछिन् ।  अचारमा हामीले मेथी, मसला, खुसार्नी, कागती, आँप लगायत विभिन्न सिजनल वस्तुहरुको बनाउने तरिका सिकाइएको बताइन् ।

तालिम पछि व्यवसाय नै गर्ने सोचमा छिन् पार्वती विडारी । उनले साना किसान सहकारीको नाममा अचार बनाएर व्यवसाय गर्ने सोचमा रहेको बताएकी छिन् । नगरपालिकाबाट अचारको तालिम लिएपछि आफुमा थप ऊर्जा, सहयोग र ज्ञान बढेकाले कामलाई निरन्तरता दिने बताइन् । सुरुमा मास, कर्कलोका मस्यौरा र तितौराको बनाउने गर्थे अब मेथी मसला, कागती, खुसार्नी लगायतको बनाउने सीप रहेको बताउँदै उनले भनिन्ः कर्चा पदार्थ जम्मा गरेर निरन्तर काम गर्न सके आम्दानीको बाटो बनाउने योजना रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले आन्तरिक स्रोत र राजश्व बाँडफाँड संघीय सरकार अन्तरगत हामीले टोल विकास संस्थाको मागमा आधारित भएर सचेतनामूलक, सीपमूलक तथा आयमूलक तालिमहरु प्रदान गर्दै आइरहेको वडा नम्बर १ का वडा अध्यक्ष एंव उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए । उनले मागमा आधारित  युवा, तथा महिला लक्षित विभिन्न सीप मूलक तालिम प्रदान गरिएको बताए ।

हामीले ५० औं लाख खर्च गरेर तालिम दिन्छौं कतिपय तालिम लिएर व्यवसाय नगरेको पनि पाएका छौं कतिले व्यवसाय गरिरहेका समेत छन्ः प्रवक्ता न्यौपानेले भने । लक्ष्यप्राप्तका लागि तालिम कार्यक्रम दिन्छौ कतिपय स्थानमा हामी पनि चुकेका छौ जस्तो आभाष मनमा छ । तालिम लिने लिस्ट सयौं संख्यामा हुन्छन् तर व्यवसाय गर्नेमा दर्जनौमा भेटिन्छन्ः उनले बताए । –तस्विरः श्रीराम अर्जुन