February 19, 2025
असार २८, २०८०

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिकाले आव २०८०८१ मा सहकारी मार्फत किसान लक्षित कार्यक्रम गर्ने भएको छ । बुधबार भएको गाउँपालिकाको नवौं गाउँ सभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै सहकारी मार्फत किसान लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ ।

गाउँपालिका उपाध्यक्ष मानकुमार पाख्रीनले तीलगंगा बहुउद्देश्यीय सहकारीमा सञ्चालित कोल्डरुम लक्षित उत्पादन र भण्डारण कार्यक्रमलाई तीन लाख बजेट विनियोजन गरेकी छिन् । उत्पादनमा आधारित प्रोत्साहन अनुदानमा धान, रैथानेबाली कोदो, फापर, जुनेलो,धानकोदो, तरकारी, लसुनप्याजमा २३ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, जन प्रगतिशील दुग्ध उत्पादन सहकारी संस्थालाई मिल्क एनालाइजर सफ्टवेयर सेटका लागि २ लाख ५० हजार, सहकारी संस्था मार्फत काउलीफ्ट वितरण गर्न तीन लाख, सहकारी संस्था मार्फतनै साईलेज उत्पादनगर्न २५ लाख बजेट विनियोजन गरिएको छ ।

किसानलाई रसायनिक मलको अभाव हुन नदिन मल कार्ड तयार गर्ने र वितरणका लागि २ लाख ५० हजार बजेट ल्याएको छ । गाउँपालिकाले ७२ करोड ६५ लाख ५६ हजारको कुल बजेट ल्याएको छ ।