October 10, 2024
असार ११, २०८०

ललितपुरकाे सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनीहरूले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् ।

वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै सङ्घसम्म पुग्दा पनि समस्याको समाधान नभएपछि आन्दोलन गरिरहेको सहकारी पीडित विकासचन्द्र ढकालले बताउनुभयो । देउरालीले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरे पनि बचतकर्ताले गरेको फोनसमेत नउठाएको सहकारी पीडितको भनाइ छ ।

२०७९ असारदेखि समस्यामा परेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले सातदोबाटो, सूर्यविनायक र न्युरोडमा रहेको सेवा काउन्टरका बचतकर्ता, सञ्चालक समिति र कर्मचारीलाई लक्षित गरी विज्ञप्तिमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ तर सहकारीले बचतकर्ताको समस्या सम्बोधनका लागि कुनै प्रयास नगरेका पीडित बागडोलका भानुप्रकाश जोशीले बताउनुभयो ।

सहकारीले केहीलाई जग्गा उपलब्ध गराइरहेको र केहीको बचत फिर्ता गरिरहेको, साना बचतकर्तालाई रकम व्यवस्थापन गर्ने  र छिटै उनीहरूलाई रकम बाँड्ने तयारी गरिरहेको अध्यक्ष रविन्द्र चौलागाईंले दाबी गरे पनि अहिलेसम्म यसबारे केही जानकारी नपाएको पीडितले बताएका छन् ।