April 19, 2024
असार ८, २०८०

श्रीराम अर्जुन


मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ४ लाई बाख्रा पकेट क्षेत्र बनाएसँगै अनुदानमा आधारित ५० किसानलाई बाख्रा हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले वडा नम्बर ४ को सामरीपुल क्षेत्रमा प्रति किसानलाई पाँचवटा बाख्राका दरले वितरण गरेका हुन् ।

गाउँपालिकाको व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बाख्रा कार्यक्रम अन्तरगत बाख्रा हस्तान्तरण गरिएको अध्यक्ष स्याङ्तानले बताए । उनले पालिकाको ध्येय नै कृषि, पशुपालन, पर्यटन रहेको भन्दै वडा ४ लाई बाख्रा पटके क्षेत्र बनाउन लागिएकोले सोही अनुरुप सहकारीको व्यवस्थापनमा किसानलाई बाख्रा हस्तान्तरण गरिएको बताए ।

विपन्न वर्गहरुको उत्थान गर्न यस्ता कार्यक्रमले थप टेवा पुग्ने भएकाले आर्थिक जिविकोपार्जनका लागि बाख्रा तथा पाठीहरु वितरण गरिएको बताए । गाउँपालिकाले वडा एकमा तामाङ कपडा बनाउने सीप सिकाएको, वडा २ मा बाँस र नियालोबाट ह्याण्डीक्राफ्टका सामाग्री बनाउने सीपमूलक तालिम दिएको बताउँदै वडा ४ लाई भने बाख्रा पालनलाई प्राथमिकतामा राखेर साना किसान सहकारी मार्फत यस कार्यक्रम गरिएको बताए । यसले आगामी वर्ष पनि निरन्तरता पाउने बताउँदै अनुदानमा आएको भन्दै उत्पादन नै नभई छिट्टै बिक्री गरिएको पाईएमा कारवाहीको दायरामा ल्याउने समेत बताएका थिए ।

No description available.

श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्सालले किसान दिदी बहिनीहरुलाई आर्थिक पाटो बलियो बनाउन र जिविकोपार्जनमा थप टेवा पुग्ने हिसाबले बाख्रा हस्तान्तरण गरिएको बताईन् । उनले पाँचवटा बाट उत्पादन वृद्धि गर्दै लैजान किसानहरुलाई आग्रह गरेकी छिन् । प्रति बाख्राको १० हजार बराबरको बीमा समेत गरिएको बताउँदै अध्यक्ष लम्सालले प्रतिकिसानलाई दुई हजार दुई सय बराबरको औषधि समेत प्रदान गरिसकेको बताइन् ।

हामीले सामरी पुल क्षेत्र, मनकामनाचोक, बन्दा डाँडा र भित्री कालीखोला क्षेत्र गरी पाँच ठाउँका ५० किसानलाई २५० वटा बाख्रा पाठी हस्तान्तरण गरेका हौं अध्यक्ष लम्सालले बताइन् । गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा उक्त कार्यक्रम गरिएको हो । गाउँपालिकाले प्रतिकिसान २५ हजार दिन्छ, किसानले २५ हजार लगानी गरेर बाख्रा पालन गर्ने हो अध्यक्ष लम्सालले बताइन् ।

No description available.

गाउँपालिकाबाट प्राप्त बजेटमा ४० हजारको बाख्रा पालन सम्बन्धी तालिम प्रदान गरियो । एक लाख १० हजार को औषधि खरिद गरि वितरण गरिएको संस्थाका प्रवन्धक गीता लम्सालले बताइन् । उनले एक लाखमा पाँच वटा बोका खरिद गरी पाँच स्थानमा पठाएको समेत बताएकी छिन् । बाख्रा पकेट कार्यक्रममा सहकारीका शेयर सदस्य मात्र नभई अन्य किसानहरुको सहभागिता रहेको छ ।

संस्थाका अध्यक्ष निर्मला लम्सालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष एंव आर्थिक विकास समिति संयोजक कृष्णप्रसाद बजगाई, वडा ४ का वडा सदस्य धनबहादुर लामा, पशु प्राविधिक वडा ८ का कर्णबहादुर विश्वकर्मा, मनकामना दुग्ध उत्पादक सहकारीका पशु प्राविधिक राजु रेग्मी लगायतको आतिथ्यता रहेको थियो । उक्त बाख्रा हस्तान्तरण कार्यक्रम श्रमिक साना किसान कृषि सहकारी संस्थाको आयोजनामा भएको थियो ।