December 12, 2024
जेष्ठ ३१, २०८०

हेटौंडा \ बागमती प्रदेश सरकारको पर्यटन उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालले सहकारीको मर्म अनुरुप प्रदेश सरकार लाग्ने बताएका छन् । हेटौंडामा भएको सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया समापन कार्यक्रममा बोल्दै सचिव रिजालले सरकारको भूमिकामा भएको कमीकमजोरीलाई सञ्चाएर सहकारीको मर्म र भावनामा रहेर सरकार लाग्ने बताएका हुन् ।

उनले सहकारीमा भएका विकृति र समस्यालाई अब सरकारले प्रभावकारी रुपमा अनुगमनको कार्यलाई तीव्रता दिने बताउँदै सरकारसँग प्रदेशका सहकारीका यथार्थ तथ्याङ्क रहेकाले जिल्लागत रुपमा तथ्याङ्कलाई एकरुपता ल्याउने गरि काम गरिने बताए । जनशक्तिको अभावले गर्दा नजिकबाट सबै सहकारीलाई नियाल्न नसकेको भन्दै सचिव रिजालले अब प्रदेशमा सहकारी रजिष्ट्रार स्थापनाका लागि आवश्यक पहल गरिने बताए ।

आगामी बजेटमा सहकारीका विभिन्न क्षेत्रलाई समेट्ने गरि ल्याउन आफुले पहल गरिने भन्दै सचिव रिजालले सहकारीका महासंघ, प्रदेश स्तरीय संघसँगको सहकार्य र समन्वयमा गोष्ठी तथा अन्तरक्रिया गरी सहकारी क्षेत्रमा भएका समस्या, चुनौती र सवल पक्षमा हातेमालो गरेर जाने बताए ।

गोष्ठीबाट जारी भएको ९ बुँदे प्रतिवद्धता पत्रलाई कार्यान्वयन गर्न प्रदेशका सबै विषयगत सहकारी संघलाई निर्देशन दिएका छन् । उनले सहकारीलाई थप सहज गर्न आवश्यक पर्ने ऐन संसोधन गर्न आफु र सरकार तयार रहेको भन्दै सहकारी क्षेत्र देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको समेत बताएका थिए ।