April 20, 2024
जेष्ठ ३०, २०८०

हेटौंडा \ सहकारीले अनुत्पादक क्षेत्रमा अधिक मात्रामा लगानी गर्नु र तरलता व्यवस्थापन गर्न नसक्नुले सहकारीमा समस्या आएको राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कंडेलले बताएका छन् । उनले हेटौंडामा भएको सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले सहकारीले नीतिगत एंव कानुनी प्रावधानहरुको परिपालनमा उदानशिनता देखाउनु, समयसापेक्ष संस्थागत परिवर्तन नहुनु र प्रविधि मैत्री बनाउन नसक्नुले पनि सहकारीमा समस्या उत्पन्न भएको बताएका हुन् ।

उनले नीतिगत त्रुटि र प्रक्रियागत झन्झटका कारण सहकारीलाई उद्योग व्यवसायमा लैजान नसक्नु, सहकारी ऐनका प्रवद्र्धनात्मक व्यवस्थाहरु कार्यान्वयनमा सरकारी पक्षबाट आनाकानी गरिनुले पनि सिंगो सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको बताए । सरकारको कर नीतिमा अस्थिरता, घरजग्गामा लगानी गर्नाले सयौं संख्याका सहकारीमा आर्थिक समस्या आइसकेको बताए ।

सरकारले सहकारीका समस्याको निराकरणमा सहकारी उद्योग तथा व्यवसाय सञ्चालन गर्नका लागि बाधक रहेका अन्तरसम्बन्धित ऐनहरुको संशोधन गरिनुपर्ने जोड दिएका थिए । कार्यक्रममा उनले सहकारी कर्जा सुचना केन्द्र तथा बचत तथा ऋण सुरक्षण कोषको स्थापना , कर्जा असुली न्यायधीकरणको गठन, सहकारी प्रवद्र्धन कोषको परिचालन गरिनुपर्ने बताए । सरकारले स्थिरिकरण कोषको कार्यान्वयनमा प्रोत्साहन गर्नुको साथै बजार अनुरुप सन्दर्भ व्याजदर स्वचालित रुपमा घटबढ हुने व्यवस्थाका लागि नियमावली संशोधन गर्नुपर्ने माग राखेका थिए ।

अध्यक्ष कंडेलले समस्याग्रस्त सहकारीको व्यवस्थापनमा तदारुकता दिनुका साथै प्रभावकारी ढङ्गले अनुगमन गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले समस्याका समाधान सरकारबाट मात्र नभई छाता संघहरु मार्फत पनि गरिनुपर्ने बताए । छाता संघहरुले सदस्य संस्थाहरुको नियमित रुपमा अनुगमन तथा निरिक्षण गर्ने, स्थानीय सरकारसँग नीति संवाद सञ्चालन गर्ने, सहकारी मैत्री नीति तथा कार्यक्रमका लागि तीन तहकै सरकारसँग लबिङ गर्ने, संघ/संस्थाहरुले दिने सहकारी सम्बन्धी तालिम तथा शिक्षा कार्यक्रमहरुमा एकरुपता ल्याउनेमा जोड दिनुभयो ।