January 13, 2025
जेष्ठ ३०, २०८०

 हेटौंडा \  बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा  हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार र बुधबार सञ्चालन हुने कार्यक्रमको मंगलबार प्रदेश पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले समुद्घाटन गरेका हुन् । प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा रािष्ट्रय सहकारी महासंघ लिमिटिेड नेपालका अध्यक्ष मिनराज कंडेलले सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरणका लागि सरोकारवालाहरुको भूमिका र छाता संघहरुको दायित्व विषयक आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरिबी न्यूनिकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

No description available.

त्यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले बचत सहकारीमा देखिएका समस्या र त्यसको समाधान उपायका लागि सरकार र अभियानको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गोष्ठीको उद्देश्य र प्रदेश सहकारी बोर्डले सम्पादन गर्ने कामहरुबारे आफ्नो प्रस्तुती दिएका थिए ।

मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजाल, सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे लगायतले आफ्नो भनाई राखेका थिए ।

No description available.

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, सहकारी महासंघका पुर्व सञ्चालक बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेशका १३ जिल्लाका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिका साथै जिल्लामा रहेका विषयगत सहकारी संघहरुको अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको छ । अन्तरक्रिया कार्यक्रम दुई सञ्चालन हुनेछ । अन्तरक्रिया पछि बुधबार हेटौंडाबाट घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ ।