
मनहरी \ साना किसान सहकारी संस्था लिमिटेड मनहरीले २५ औं वर्ष पुरा गरेको रजत जयन्ती मनाएको छ । सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै सहकारीले रजत जयन्ती मनाएको हो । सहकारीले आधुनिक सभाहल समेत सञ्चालनमा ल्याएको छ । शुक्रबार मनहरी ८ सिम्पानी स्थित मुख्य कार्यालयमा बनेको आधुनिक सभाहल उद्घाटन गरिएको हो।
संस्थाकी अध्यक्ष विमला कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारीका केन्द्रीय सदस्य खेमबहादुर पाठकको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समयमा केही समूहले सहकारी, लघुवित्तको ऋण मिनाहाको बहानामा साना ऋणीहरुलाई उचालेर आफ्नो ठुलो ऋण मिनाहाको लागि केहि अराजक तत्वहरु लागिरहेको बताए ।
जहाँ सुशासन कायम भएको छैन, शेयर सदस्यलाई सहकारीबारे ज्ञान नभएको त्यो ठाउमा सहकारी तहसनहस भएको अवस्था रहेको बताउँदै अब किसानको बारीमा उत्पादित तरकारी फलफुलहरु भाटभटेनी, बिग मार्केट सँग सिधा व्यापारको लागि छलफल गर्दै गरेको बताए । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मकवानपुरको ग्रामीण क्षेत्रमा साना किसान सहकारीले अग्रणी भूमिका निर्वाह गरेकोमा प्रंशसा गरेका थिए । सहकारीले शेयर सदस्यहरुको लागि मात्र नभई अरु साना किसानलाई ठुलो किसान बनाउन तर्फ सहकारी लाग्नुपर्ने बताए ।
संस्थाको संस्थापक अध्यक्ष एकराज उप्रेती, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, साना किसान सहकारी लघुवित्त वित्तीय संस्थाको इलाका प्रबन्धक कृष्ण कुमारी शर्मा, पश्चिम मकवानपुर उद्योग वाणिज्य संघ मनहरीका अध्यक्ष गणेशमान मानन्धर, आमाघर सेवा आश्रमका विजयराज सिग्देल, मनहरी ८ का वडा अध्यक्ष नारायण उप्रेती, ईलाका प्रहरी निरीक्षक कृष्णराज ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाले कार्यक्रममा दुग्ध उत्पादन तर्फ सोरिना सुवेदी, एनएलएसआईपी परियोजना उत्कृष्ट निर्मला सुवेदी, भक्तिमायाँ माझी, लक्ष्मी राई त्यस्तै पशुपालनतर्फ पाडा पालनमा मान बहादुर मोक्तान, बाख्रापालनमा अनिता अर्याल, बिमला थोक्रा र बंगुर पालनमा विमला स्याङ्बोलाई सम्मानित गरिएको थियो ।
विस २०५५ सालमा पूर्ण स्वामित्व लिई स्थापनाकालमा ६ सय ६३ जना सुरुवात गरिएको संस्थामा हाल २ हजार ५ सय ६८ जान शेयर सदस्यहरु रहेको छन्। सहकारीले हाल ५२ करोड ५३ लाख कारोबार गर्दै आएको सहकारीका मुख्य प्रबन्धक ज्योति सुवेदीले बताए ।
जेठ २१ गते पत्रकार सम्मेलन गरि सुरुभएको सप्ताहव्यापी कार्यक्रम २२ गते विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण, २३ गते रक्तदान, २४ गते गरिवी न्यूनीकरणमा साना किसान सहकारी संस्थाको भूमिका विषय पालिकाको माध्यमिक तह विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता, २५ गते आधुनिक प्रविधि र प्रतिष्पर्धात्मक अवस्थामा संस्थापक सदस्यहरुको भूमिका र महत्वको विषयमा अन्तरक्रिया एवम् प्रशिक्षण कार्यक्रम र २६ गते शुक्रबार आधुनिक सभाहलको भवन उद्घाटन गर्दै रजत जयन्ती कार्यक्रम समापन भएको मुख्य प्रबन्धक सुवेदीले बताए ।