हेटौंडा \ हेटौंडा २ संगमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । बुधबार संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा स्थापना दिवसका कार्यक्रमहरुको सुरुवात गरिएको हो ।
सहकारीले स्थापना दिवसमा बुधबार ५० जना शेयर सदस्यलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ । तालिमलाई सीता बस्नेतले प्रशिक्षण दिएकी छिन् । विहीबार सहकारीले एक दिने पशुपालन कार्यक्रम गर्ने तय गरेको छ भने शुक्रबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय झोला वितरण गरिने कार्यक्रम रहेको कार्यक्रम संयोवक एंव संस्थाका कोषाध्यक्ष सीताराम दाहालले बताए ।
दिवसको अवसरमा शनिबार बकैयामा स्वास्थ्य शिविर, आइतबार सहकारीमै रक्तदान कार्यक्रम, वार्षिक लक्ष्य प्रगति समिक्षा गरिनुका साथै सोही दिन हातोमालो छात्रवृति विवरण कार्यक्रम गरिने संयोजक दाहालले बताए ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड ईन्चार्ज ज्योती महत, साइराम साकोसका उपाध्यक्ष सचिता भट्टराई, सल्लाहकार रामकुमार तिमल्सिना, नमुना प्रगति साकोसका व्यवस्थापक बद्री प्रसाद लम्साल, लेखा समिति संयोजक रविन्द्रराज सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यलाई विभिन्न सीप मुलक तालिम प्रदान गर्दै स्वरोजगार बन्न तर्फ संस्था अघि बढिरहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई बैशाख मसान्त सम्ममा ५१ करोड ८५ लाख २९ हजार ९७२ रुपैयाँ कर्जा लगानी गरेको छ भने ४२ करोड ९ लाख ४ हजार ७१६ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताइन् । ६ करोड २७ लाख ७१ हजार पाँच सय शेयर पुँजी रहेको संस्थामा ३ करोड १३ लाख ८८ हजार १६३ जगेडा कोष रहेको व्यवस्थापक सापकोटाले बताईन् ।