
मकवानपुरगढी \ आफ्नो २४ औं स्थापना दिवसको अवसरमा संस्थापक सदस्यहरु सम्मान गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ कालिवनमा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा शनिबार संस्थापकहरुलाई सम्मान गरेको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यतामा भएको थियो । सम्मानित हुने सहकारीका संस्थापकहरुलाई गाउँपालिका अध्यक्ष स्याङ्तानलाई सम्मानपत्र प्रदान गरेका थिए ।
स्थापना दिवसमा सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष सुन्तली माया पुडासैनी र सदस्यहरुमा सावित्री देवी विडारी, पवित्रा देवी घिमिरे, लोककुमारी तिमल्सिना, सावित्री पुडासैनी, प्रेम कुमारी हुमागाई, झम्क कुमारी घिमिरे, फुलमाया जिम्बा, धनकुमारी पाख्रीन, हीरामाया थिङ, मिठुमाया मोक्तान, ज्ञानी माया लो, सिन्तुमाया दोङ, मानुकुमारी चौलागाई, मैया ढकाल र लीला कुमारी पाठक रहेका छन् । कार्यक्रमको अवसरमा संस्थाको साधारण सभामा प्रदान गरिने भनिएको असल ऋणी तर्फकी जमुना माया स्याङ्बो, जेष्ठ शेयर सदस्य लीला कुमारी न्यौपाने र उत्कृष्ट बचतकर्ता रमा नगरकोटीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाई, जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव विजय बहादुर बस्नेत, संस्थाका लेखा समिति संयोजक सुलोचना स्याङ्तान, पूर्व अध्यक्ष निर्मला न्यौपाने, स्वारोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले बैशाख मसान्त सम्ममा ९ करोड ९३ लाख १८ हजार २५४ बराबरको कारोबार गर्दै तरलता २३ प्रतिशत कायम गरिएको संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताइन् । एक हजार २९० शेयर सदस्य रहेको संस्थामा एक करोड ७ लाख ८२ हजार दुई सय शेयर पुँजी रहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई ७ करोड ७५ लाख ४४ हजार १९८ कर्जा लगानी गरेको व्यस्थापक न्यौपाने जानकारी दिइन् । उनका अनुसार संस्थामा ७ करोड १८ लाख ११ हजार ३९० रुपैयाँ बचत निक्षेप रहेको छ ।