
हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीन दिने धुप बनाउने तालिम सम्पन्न भएको छ । सहकारीको वार्षिक कार्यक्रम अन्तरगत हेटौंडा १४ मयुरधापमा तीन दिने तालिम गरिएको सहकारीले जनाएको छ ।
महिलाहरुलाई बाटे धुप बनाउन तालिम प्रदान गरि उद्यमशील बनी आर्थिक पाटोलाई बलियो बनाउन तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष जानुका दवाडीले बताइन् । हामीले पहिलो पटक सहकारीमै २८ जनाको सहभागितामा तालिम प्रदान गरेका थियौ भने दोस्रो पटक मयुरधापमा ३० जनाको सहभागितामा तालिम प्रदान गरिएको अध्यक्ष दुवाडीले बताइन् । तालिमलाई राधा फुँयालले प्रशिक्षण दिएकी थिइन् ।
सहकारीले चैत्र मसान्त सम्म ३६ करोड ९ लाख ७९ हजार ६१७ रुपैयाँ बराबरको कारोबार गरेको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताइन् । ४ हजार २३० जना शेयर सदस्य रहेको सहकारीमा २६ करोड २० लाख ५२ हजार ४७३ रुपैयाँ बचत रहेको छ भने ३० करोड १३ लाख ९० हजार ९६४ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक रुम्बाले बताइन् ।
उनका अनुसार ३ करोड ३७ लाख २४ हजार चार सय शेयरपुँजी र १ करोड ५६ लाख ६४ हजार ३० रुपैयाँ जगेडा कोष रहेको छ । सहकारीले ६७ लाख २६ हजार ८४४ रुपैयाँ खद नाफा गरेको जनाइएको छ ।