हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेमा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाले विहीबार २३ औं स्थापना दिवस मनाएको छ ।
संस्थाको भवनमा एक समारोहकाबीच स्थापना दिवस मनाएको हो । चैत्र ३० गते दर्ता भई कार्यसुरु गरेको भनी आज दिवस मनाइएको हो । संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सोही अवसरमा वडा कार्यालयको सहयोगमा भएको सात दिने व्युटि पार्लर तालिमका सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा व्यूटि पार्लर तालिमसँगै एक दिने पशुपालन तालिम, दन्त तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर गरेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, जिल्ला सहकारी संघका उपाध्यक्ष तथा सहकारी संस्थाका लेखा समिति संयोजक मेनुका दाहाल, वडा सदस्यद्धय मिनु विश्वकर्मा र सिंह बहादुर लो, व्यूटि पार्लर तालिमका प्रशिक्षक शान्ति मोक्तान, खबरसहकारी डटकमका सम्पादक श्रीराम अर्जुन, संस्थाका उपाध्यक्ष मीना अधिकारी लगायतले आफ्ना भनाइ राखेका थिए ।
सहकारीले चैत्र २९ गते सम्ममा आफ्ना सदस्यलाई १३ करोड ९४ लाख ६१ हजार १७६ रुपैयाँ कर्जा लगानी गरेको छ भने १२ करोड ३ लाख ५३ हजार ९९ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक माया तामाङले बताइन् । सहकारीमा ९६ लाख ७० हजार २०२ जगेडा कोष रहेको र शेयरपुँजी २ करोड १९ लाख २३ हजार तीन सय रहेको बताइन् । सहकारीले १६ करोड ६५ लाख ७४ हजार १३ रुपैयाँ बराबरको कारोबार गरेको छ । सहकारीमा २ हजार ६०७ शेयर सदस्य आवद्ध रहेका छन् ।