मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवसको अवसरमा गरिएको विभिन्न कार्यक्रमहरु मंगलबार समापन भएको छ । सहकारीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै स्थापना दिवसको कार्यक्रमहरु समापन गरेको हो ।
मंगलबार संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सहकारीले जेष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गर्दै कार्यक्रम सकिएको हो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्य सुमित्रा लामिछाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
चैत्र ११ गते स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम, १८ गते बाल कार्यक्रम तथा हाजिरिजवाफ प्रतियोगिता आफ्नै भवनमा, २० गते राष्ट्रिय सहकारी दिवस मनाइएको, २३ गते हेटौंडा १७ को सेवा केन्द्रमा बाल कार्यक्रम तथा हाजिरिजवाफ कार्यक्रम गरिएको थियो । त्यस्तै २५ गते संस्थामा बृहत रक्तदान कार्यक्रम गरिएको थियो भने आज मंगलबार जेष्ठ नागरिक सम्मान तथा सम्पूर्ण कार्यक्रमको समापन गरिएको छ ।