January 13, 2025
चैत्र २३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माणको काम पछाडि धकेल्न सक्छ । तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ ।’

यस्तै, अर्थ मन्त्रालयसँग समन्वय गरेर भौतिक प्रगति राम्रो भएका विकास आयोजनाहरूमा साधन स्रोतको अभाव हुन नदिने व्यवस्था गर्न सरकार तत्पर रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

बैठकका क्रममा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा जोड दिन समेत ध्यानाकर्षण गराएका छन् । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षासहितको प्रस्तुति गरेका थिए ।