भीमफेदी \ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मकवानपुरको भीमफेदी बचत तथा ऋण सहकारी संजालले भीमफेदीमा रहेको बाल गृहमा रहेका बालबालिकालाई भोजन खुवाउने कार्यक्रम गरेको छ ।
भीमफेदीमा बचत तथा ऋण सहकारीको कारोबार गर्ने ७ वटा सहकारीबाट गठन भएको सञ्जालले सहकारी दिवसको अवसर पारेर अनाथ बालबालिकाहरुलाई शनिबारको विहानको भोजन खवाउने कार्यक्रम गरिएको महिला एकता साकोसका अध्यक्ष शर्मिला महतले बताइन् । संजालका संयोजक रोमी घलानको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो भने महिला जागृति साकोसका अध्यक्ष एंव भीमफेदी गाउँपालिकाका कार्यपालिका सदस्य रिता आले मगर, महिला एकता साकोसका अध्यक्ष शर्मिला महत लगायत विभिन्न सहकारीका अध्यक्ष एंव प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । बाल गहृमा हाल २८ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।
त्यस्तै, भीमफेदी २ भैंसेमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समूहमा रहेका शेयर सदस्यहरु बीच हाजिरिजवाफ प्रथियोगिता गरेको छ । संस्थाका अध्यक्ष शर्मिला महतको अध्यक्षतामा भएको प्रतियोगितामा राप्ति महिला समूह प्रथम, भूमि महिला समूह द्धितीय, प्रगति महिला समूह तृतीय र बसन्त महिला समूह सान्त्वना भएका थिए । प्रत्येक समूहमा तीन जना रहेका थिए । विजयी हुनेलाई पानस पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा ९ वटा समूहले सहभागिता जनाएका थिए । सहकारी संस्थामा ९८ महिला समूह भए सबै समूहले सहभागिता जनाएका थिइनन् ।
प्रतियोगिता सुरु हुनु अघि सहकारी संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरिनुका साथै पल्र्स प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । एक हजार १८१ जना शेयर सदस्य रहेको संस्थामा १ करोड १२ लाख १० हजार ४ सय शेयरपुँजी रहेको छ । सहकारीमा ७ करोड बचत निक्षेप रहेको छ भने ८ करोड शेयर सदस्यलाई कर्जा लगानी गरिएको व्यवस्थापक ढुङ्गानाले बताइन् । सहकारीले १० करोड ३ लाख बराबरको कारोबार गरेको छ ।